सुविधाले रोक्न सकेन युवा : चाडपर्व नजिकिँदा गाउँ सुनसान

युनिस तामाङ
दशैं नजिकिदै छ । फाँटै भरी लहलहै धानका बाला झुलेका छन् । बारीमा कोदोले बाला हालेको छ । चारैतिर हरियाली । शारदीय मौसमको घमाइला दिनमा म्याग्दीका ग्रामीण वस्तीहरु रमाइला देखिए पनि युवाहरुको चहलपहल नहुँदा गाउँघर शोभाविहीन देखिन थालेका छन् ।

एक/डेढ दशक अघिसम्म ‘गाउँमा अभाव छ, अवसरै छैन’ भन्ने मानसिकता व्यापक थियो । तर,अहिले समय फेरियो । देशमा संघीय व्यवस्था लागु भएपछि दुर्गम गाउँको मुहार पनि उजेल्लिएको छ ।

गाउँ–गाउँ, बस्ती–बस्तीमा सिहंदरबार पुगेको अनुभूति गरिएको छ । गाउँका वस्ती वस्तीमा मोटरबाटो पुगेको छ । बजारको सामान गाडी चढाएर घरको आँगनमै झार्न सकिन्छ । खरबारीको घाँस ट्याक्टर वा मोटरसाइकलमा गोठमै पुग्छ । गाउँमा उत्पादन गरिएको वस्तु मान्छेले नबोकिकनै बजारका पसल-पसलमा पुर्याउन सकिन्छ ।

अहिले गाउँमा सुन्दर प्रकृति, आवश्यक विकास र थुप्रै अवसर सबै छन् । छैनन् त केवल प्रकृति, विकास र अवसरलाई सदुपयोग गर्ने युवा । “युवा नहुँदा गाउँ, गाउँघर जस्तो लाग्दैन । गाउँले, गाउँले जस्ता देखिदैनन्” मालिका गाउँपालिका ६ का ७१ वर्षिय देउबहादुर सिउथानी मगरले भन्नुभयो, “मुलुकमा आएको ठुलो परिर्वतनसँगै गाउँलेका रहर र सपनामा पनि परिवर्तन आएको छ । केटाकेटी १० पास गरेपछि शहर पस्छन् । १२ पास गरे परदेशी बन्छन् । विदेश जान गाउँमा होड चल्छ । गाउँमा रहेका अवसरहरु प्रति त कसैको आँखै लाग्दैन ।”

म्याग्दीमा केही समययता विदेशबाट फर्केर गाउँमै उद्यम गर्ने युवाहरुको संख्या बढ्दै गएपनि विदेश नै नगई गाउँमा नै अवसरहरुको खोजी गर्ने युवाहरु भने नगण्य मात्रामा रहेका छन् ।

“स्कुले बालबालिकाहरुदेखि लिएर ४५ वर्षिय वयस्क व्यक्तिले समेत विदेशकै चाहना राखेको हुन्छ” के वि एकेडेमी दरबाङका शिक्षक मिनबहादुर सुनारले भन्नुभयो “कक्षामा बालबालिकालाई भविष्यमा तिमी के बन्ने चाहना राखेका छौ ? भनेर सोध्ने हो भने धेरैको मुखबाट ‘लाहुरे’ शब्द फुत्त निस्कन्छ ।”

“युवाहरु आफ्नो रहरले भन्दा पनि घरका अभिभावकको कहरले गर्दा विदेशिन वाध्य भएका हुन्” शिक्षक सुनार भन्नुहुन्छ “फलानोको छोरो विदेश गएर यो ग-यो,त्यो ग-यो,तँ गाउँमै हल्लिएको छस्,खाएको छस्,बूढा बाबु वल्लो घर छोरालाई गाली गर्दै कराएको पल्लो घर सुनिन्छ,वातावरण नै यस्तो भैदिए पछि एक्लै युवाले मात्रै के के पो गरोस् ।”

युवाहरुमा सकेसम्म युरोप, अमेरिकामा ‘सेटल’ हुने नसके खाडी मुलुकमै गएर भए पनि केही कमाएर फर्कने भन्ने मानसिकताले गर्दा गाउँमा रहेका रोजगार र आयआर्जनका अवसर र सम्भावनाहरु ओझेलमा परेका यहाँका जानकारहरुको भनाइरहेको छ ।

रोजगारीका लागि विदेश पसेका युवाहरुबाट म्याग्दीमा वार्षिक तीन अर्बको हाराहारीमा रेमिट्यान्स भित्रिने गरेको बैंक तथा वित्तिय संस्थाहरुको तथ्याङ्क छ ।

रेमिट्यान्सले पैसा त आयो तर पैसासँगै गाउँमा खुशी भने आउन सकेको छैन । छोरा छोरीले विदेशमा कमाएको पैसाबाट किनिएका शहरका घर र घडेरीमा गाउँका वृद्धवृद्धाहरु बसाइ सर्न मानेका छैनन् । गाउँको चिसो पानी, उर्बर माटो र त्यही माटोमा लडिबुडी खेलेर हुर्केको जवानी त्यती सजिलै विर्सन उनीहरु तयार छैनन् । उनीहरुमा गाउँप्रतिको अगाध प्रेम अझै बाँकी रहेको बेनी नगरपालिका २ बगरफाँटका ६८ वर्षिय पदमपाणी शर्माले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here