– भानु बुढामगर, बाग्लुङ
भानु बुढा मगर भन्छिन् बिहान सात बजे काठमाडौको ठूलोभर्याङबाट छोरीले गाडी चढाइदियो । म चालक भन्दा पछाडिको सिटमा थिएँ । गाडी एकनासले गुडिरहेको थियो । गल्र्याङगुर्लुङ गरेर एक्कासी बस ठोक्किएजस्तो भयो । मान्छेहरु चिच्याएको सुनेपछि झल्यास्स भएँ ।
म बस भित्रै रहेछु । बाहिर कस्तो छ केही देखिन । गाडीको पांग्रासहित आधाभाग पानीमा डुबेको भएपनि सिट डुबेनछ । गाडी घोप्टो परेको भए म पानीमा डुब्थे होला । गाडी ठाडै बसेकोले पानीमा परिन । बाहिर निस्केपछि हेर्दा पो गाडी नदीमा रहेछ । त्यो पानीमा डुबेको भए म बाच्दिन थिए होला ।
मेरो छेउमा एक जना केटी थियो । उ कहाँ पुग्यो देखिन । एउटा केटी, एउटा केटा रगताम्य भएर छटपटाइरहेका थिए । ऐया–ऐया मेरो परान गयो भन्दै कराइरहेका थिए । मेरो निधारमा चोट लागेको रहेछ । रगत धेरै जाला भनेर हातले समातेर बसिरहेँ । एकछिनपछि गाउँका मान्छेहरु आयो । पुलिसहरु पनि आइपुग्यो । गाडीबाट मलाई तानिदियो । नदीबाट भीरमा डोरी टाँगेर कोहीले तान्ने, कोहीले पछाडिबाट उचाल्ने गर्दै रोडमा निकालिदिए ।
बीच बाटोमा आएर दुई जना केटा पनि चडेका थिए । सामानहरु पनि हालेको थियो । अगाडिपट्टी मान्छे टन्नै थियो । पछाडि कति थिए थाहा भएन ।
मेरा छोराछोरी, नाती नातिनाको भाग्य रहेछ । मलाई मेरो देउताले पनि बचायो । ठूलो ठूलो बोका काटेर पुजा गरिन्थ्यो । देउतालाई पुजा गर्थ्यौ आज देउताले देख्नुभयो ।
म कलेजोको दीर्घ रोगी हुँ । तीन/चार महिनामा उपचारको लागि काठमाडौं आइरहन्छु । यस्पाली पनि बिर अस्पतालमा कलेजो जँचाएर फर्किन लागेको हो । ६५ वर्षीय भानु बुढामगरको एउटा आँखा र निधारमा चोट लागेको छ ।
बुधबार काठमाडौबाट पोखरा हुँदै म्याग्दीको वेनितर्फ जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस धादिङको गजुरी-२ छहराबाट त्रिशुली नदीमा खस्दा आठ जनाको मृत्यु भएको थियो ।
(शंकर श्रेष्ठसँग कुराकानीमा आधारित)