भुटानमा कोही आफन्त थिएनन्, श्रीमती/छोराछोरी खोज्दै बेलडाँगी शरणार्थी शिविर आइपुगें । उनीहरू त अमेरिका पुगिसकेछन्, फेरि एक्लिएको छु जेलमा जस्तै ।’
झापा — राज्यविरुद्धको द्रोह गरेको आरोपमा पक्राउ परेर जेल पर्दा भुटान, कालीखोलाका मधुकर मगर जम्मा २६ वर्षका थिए । बिना आधार र पुष्टिको अभियोगमा लगातार ३० वर्ष जेलमा बसेपछि गत बुधबार उनलाई रिहा गरियो र भनियो‚ ‘भुटानमा तिम्रा आफन्त कोही छैनन्, सिधै नेपाल जाऊ, उतै शरणार्थी शिविरमा कोही होलान् ।’
मधुकरसँग अरु उपाय पनि थिएन । जेलमा छँदा गरेको काम (हँसिया, खुकुरी बनाउने) बाट आएको केही पकेट खर्च र जुगाड गरेको पैसाका भरमा फुन्चोलिङ–जयगाउँ हुँदै मधुकर काँकडभिट्टाको बाटो भएर गत शुक्रबार राति मात्रै बेलडाँगी शिविर आइपुगे । मधुकरले शिविर आउनासाथ पुराना चिनारु दिलकुमार राईको खोजी गरेका थिए‚ जो ६ वर्षअघिसम्म चेम्गाङमै ‘कैदीबन्दी साथी’ थिए । २१ वर्षजति चेम्गाङ जेलमा कैदी बनेर राई सन् २०१७ को अक्टोबरमा मात्रै बेलडाँगी शिविर आएका हुन् ।
‘यता शिविरमा बस्ने श्रीमती, छोराछोरी, बाआमा कोही पनि यहाँ नरहेको थाहा पाएँ । सबै अमेरिका उडिसकेछन्,’ मधुकरले सुनाए‚ ‘धन्य ! एउटा भाइ नरबहादुर भने शरणार्थी छाप्रोमै रहेछ, अब त्यसैको सहारामा शिविरमा बस्नुपर्ला ।’
दक्षिणी भुटानको कालीखोलाको भित्री गाउँबाट लखेटिएर श्रीमती, २ सन्तानसहित सन् १९९१ को सुरुआतमै शरणार्थी बनेर पूर्वी नेपाल आएका मधुकर त्यसको २ वर्षपछि आफन्त भेट्न भुटानको बीचगाउँ पुगेका थिए । ‘मलाई बाटैमा भुटानी पुलिसले पक्रेको थियो, अर्का साथी मनबहादुर मोक्तानलाई पनि केहीपछि पक्रेको थियो,’ शिविरमा अलमल्ल पर्दै बसिरहेका मधुकरले सुनाए‚ ‘पछि सन् २०१४ सम्म श्रीमती सरस्वती र अरु आफन्तहरू चेम्गाङ जेलमा आएर भेट्ने गरेका थिए । त्यसपछि भने बन्दाबन्दी रह्यो ।’ उनीसँगै पक्राउ परेका अर्का मोक्तान साथी केही वर्षअघि रिहा भएर अहिले मेघालयतिर बस्छन् भन्ने उनले सुनेका रहेछन् ।
सन् १९९३ यता चेम्गाङ जेलमा थुनिएका बेलाका साथीभाइहरू टेकनाथ रिजाल, दिल राई, टेकबहादुर मगर, मानबहादुर खालिङ, मंगलध्वज सुब्बा, शान्तिराम आचार्य, रुद्रबहादुर कार्की‚ जो आज छुटेर नेपाल आइसकेका छन्; ती सबैसँग भेट–भलाकुसारी गर्ने योजनामा छन् मधुकर । त्यही भएर शनिबार बिहानैदेखि उनी शिविरभित्र व्यस्त देखिन्थे । ‘उता चेम्गाङमा अहिले थुनामै रहेका भक्तबहादुर चाम्लिङ, ओमनाथ अधिकारी, सुकमान मगरका आमा–बा वा परिवार यतै शरणार्थी शिविरमा रहको बुझेको छु, तिनलाई भेट्न समय मिलाउँदै छु,’ व्यस्त तालिकामाझ मधुकरले थपे‚ ‘उनीहरू अब छिट्टै मजस्तै जेलबाट छुटेर आमाबा भेट्न आउनेछन् भनेर सुनाउनु छ ।’ चेम्गाङ जेलमै मात्रै आजीवनसहित अनिश्चित जेल सजाय बेहोर्दै बस्ने नेपलीभाषी राजबन्दीको संख्या यकिन गरेर भन्न नसकिए पनि तीन दर्जनजति रहेको हुन सक्ने उनको अनुमान छ ।
कस्तो भयो भने जीवनमा आफ्ना आमाबाबु, श्रीमती–छोराछोरीभन्दा बढी समय मधुकर जेलमा बसे । ५७ वर्षे जीवनमा ३० वर्ष जेल बसेर आएपछि उनको संसार अलिक-अलग बनेको छ– एकान्तिक र अपनत्व नभएको जस्तो । ‘म त कता हो कता आइपुगेजस्तो भइरहको छ,’ उनले सुनाए, ‘पर काँकडभिट्टामा केही आफन्तहरू लिन गएका रहेछन् र यता आउन पाइयो । अब के गर्ने, कसो गर्ने निधो गर्न पाएको छैन ।’
नक्कली र सक्कली शरणार्थीको चेपुवामा परेको शिविरमा अहिले त्यस्तो कुनै गतिविधि छैन । कोही आउँदैन, कोही जाँदैन । धेरै समयको अन्तरमा भुटानी जेलबाट फर्केर आएका मधुकर मात्रै बेलडाँगी शिविरमा अहिले पाहुनाझैं बनेका छन् । ‘उता मभन्दा अगाडि जेल पर्ने गंगाराम ढकाल, भक्तबहादुर चाम्लिङ राई र त्यसपछिका मणिकुमार प्रधान, रामबहादुर राईहरु पनि अब छुट्ने बेला भयो कि ?’ मधुकरले अनेक तनाव र धपेडीका कारण धेरै कुरा सम्झन नसकेको बताउँदै सुनाए, ‘अब जेलमा बस्ने आफन्त दाजुभाइका आमाबा र घरपरिवारलाई सबैभन्दा पहिला भेटेर उताको सन्चोबिसन्चो सुनाउनेछु, अनि मात्रै अरु कुरो अगाडि बढ्ला ।’
यसैबीच, नेदरल्यान्ड्सको हेगस्थित भुटानी राजबन्दी रिहाइको अन्तर्राष्ट्रिय अभियानका संयोजक राम कार्कीले राजबन्दी मधुकर मगरको रिहाइको स्वागत गरेका छन् । चेम्गाङमा थुनामा रहेका बाँकी ३७ राजबन्दीको बिनासर्त तत्काल रिहाइका लागि कार्कीले अपिल गरेका छन् । ‘लोकतन्त्रको दुहाइ दिने र खुसीसुखी राष्ट्रको नारा उछालिरहने राष्ट्र भुटानले बिनाकारण तथा आधारमा ३० वर्षयता थुनामा राखेका राजबन्दीको रिहाइका निम्ति तत्काल पहल गर्नु जरुरी छ,’ कार्कीले भने‚ ‘यो कदमले मात्रै अन्तर्राष्ट्रिय मन्चमा भुटानको छविमा सुधार आउन सक्छ ।’