१० जना पत्रकारहरु एलआईसी नेपाल मिडिया अवार्डबाट सम्मानित

काठमाडौँ । प्रजातन्त्र दिवसको अवसरमा दोस्रो संस्करणको एलआईसी नेपाल मिडिया अवार्डबाट विभिन्न विद्यामा कार्यरत १० जना पत्रकारलाई सम्मान गरिएको छ । 
अघिल्लो वर्षदेखि प्रदान गर्न थालिएको अवार्ड यस वर्ष विभिन्न १० विधाका पत्रकारलाई प्रदान गरिएको हो । कार्यक्रमको उद्घाटन वरिष्ठ पत्रकार भैरव रिसालले गरेका थिए ।
ड्रिम हाई नेपालले आयोजना गरेको दोस्रो एलआईसी नेपाल मिडिया अवार्ड २०७९ को अवसरमा लाइफटाइम एचिभमेन्ट अवार्ड वरिष्ठ पत्रकार कृष्णा ताम्राकारलाई प्रदान गरियो । ताम्राकारलाई १ लाख रुपैयाँ नगदसहित लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको हो ।
टेलिभिजन, छापा, एफएम रेडियो र अनलाइन सञ्चारमाध्यमहरूमा कार्यरत सञ्चारकर्मीहरूको पछिल्लो १ वर्षयताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर सम्मान र पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । 
यस्तै अर्का वरिष्ठ पत्रकार भुषण दाहाललाई दशकका पत्रकारको रूपमा ५१ हजार पुरस्कार राशीबाट सम्मान गरियो । 
यस वर्ष अवार्डमा वेष्ट इन्टरटेन्मेन्ट जर्नालिजन अफ द इयर, वेष्ट स्पोर्ट्स अफ इयर, वेष्ट अनलाईन जर्नालिजम अफ द इयर, वेष्ट कार्टुनिष्ट अफ द इयर, वेष्ट विजनेश जर्नालिजम अफ द इयर, रेडियो जर्नालिस्ट अफ द इयर, टीभी जर्नालिस्ट अफ द इयर, फोटो जर्नालिस्ट अफ द इयर, वेष्ट प्रिन्ट जर्नालिस्ट अफ द इयर र वेष्ट युटुव च्यानल अफ द इयर अवार्डबाट पत्रकाहरूलाई सम्मान गरिएको हो ।
जसमा विजनेश जर्नालिजम अफ द इयरबाट केटिएम भ्वाइस डटकमका रोयल आचार्य, रेडियो जर्नालिस्ट अफ द इयरबाट रेडियो कान्तिपुरका अनिल परियार, वेष्ट टेलिभिजन जर्नालिस्ट अफ द इयरबाट योहो टेलिभिनका जीवराम भण्डारी, फोटो जर्नालिस्ट अफ इयरबाट मिन बज्राचार्य, वेष्ट प्रिन्ट जर्नालिस्ट अफ इयरबाट नयाँ पत्रिका दैनिकका शिल्पा कर्ण, वेष्ट कार्टुनिष्ट अफ इयरबाट नागरिक दैनिकका रविन सायमी, वेष्ट इन्टरटेन्मेन्ट जर्नालिस्ट अफ द इयरबाट बाह्रखरीका नरेश फुँयाल, वेष्ट स्पोर्टस जर्नालिस्ट अफ द इयरबाट नागरिक दैनिकका अनिल मल्ल ठकुरी, वेष्ट अनलाइन जर्नालिस्ट अफ द इयरबाट साझा पोष्टका बोमलाल गिरी र वेष्ट युटुव च्यानल अफ द इयरबाट मोहन बस्नेतलाई नगद राशीसहित अवार्ड प्रदान गरियो ।
कार्यक्रममा विकास खतिवडालाई फोटोग्राफी सम्मान, भीम बहादुर मल्ल ठकुरीलाई विशेष सम्मान र कृष्ण कँडेललाई पब्लिक च्याइस अवार्डबाट पनि सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here