नुवाकोट । सातौं नुवाकोट महोत्सवको आठौं दिन शुक्रवार महोत्सव प्रवेश गर्ने मुख्य गेटमा आइपुगेर एउटा ट्याक्टर रोकियो। ट्याक्टरबाट ओर्लिएका तुलबहादुर विकले जब खुकुरी बोक्न अर्को मान्छे बोलाउन थाले अनि गेटमा जम्मा भएका अन्य मानिसहरू अलमलमा पर्न थाले । १० फिट लम्बाई रहेको फलामको खुकुरी दुई जानले मुस्किलले बोकेर स्टिलसम्म पु¥याएका तुलबहादुर विकलाई अहिले त्यही खुकुरीसंगै बसेर दर्शकलाई फोटो खिचाउनमै भ्याइनभ्याई छ ।
लिखु गाउँपालिका वडा नं. २ लब्धुका तुलबहादुर विकले तयार गरेको ६८ किलाको उक्त फलामको खुकुरी अहिले नुवाकोट महोत्सवको मुख्य आकर्षणमा परेको छ । महोत्सवकै लागि भनेर डेढ महिनादेखि घरमै निर्माण भइरहेको उक्त खुकुरी विकले शुक्रवार मात्रै महोत्सव स्टलमा ल्याएका हुन् । ‘अझै धेरै काम बाँकी छ, यो खुकुरीमा, तर महोत्सव आधाआधी भइसक्यो भनेर हत्तार गरेर ल्याए’ उनले भने ।
अहिलेसम्म ४० किलोको मात्रै खुकुरी बनेको सुनेका विकलाई जीवनमा सबै भन्दा ठूलो खुकरी बनाउने रहर थियो । तर त्यसलाई कसरी बनाउने र कहाँ प्रदर्शन गर्ने भन्ने सोचिरहेका तुलबहादुर बिकले दुई महिना अघि सातौं नुवाकोट महोत्सव हुने जानकारी पाए । उनलाई वर्षैदेखि लागेको ठूलो खुकुरी बनाउने र दुनियाँलाई देखाउने रहर पुरा गर्नका लागि यही महोत्सवलाई प्रयोग गर्ने हुटहुटी चल्यो र ‘संसारकै ठुलो खुकुरी’ बनाउन जुटे । उनले आफ्नो परिवारका सदस्यहरूको साथ लिएर यो खुकुरी बनाएका हुन् ।
२०६३ सालबाट सुरु भएको नुवाकोट महोत्सबदेखि नै आफ्नो सिर्जनालाई स्टलमा राखेर देशदुनियाँलाई देखाउँदै आएका तुलबहादुर बिकलाई अहिले यही संसारकै ठुलो खुकुरी भनिएको ६८ किलोको फलामे खुकुरीले चर्चामा ल्याएको छ । अहिले उक्त कुखुरीको माग धेरैले गरेका छन् । महोत्सव आयोजक संस्थादेखि विभिन्न व्यक्ति र संस्थाले उक्त खुकुरी आफ्नो लागि विक्रि गर्न आग्रह गरिरहेको उनले बताए । अन्तराष्ट्रिय प्रर्दशनीका लागि समेत उक्त कुखुरीको माग आएको विकले सुनाए । खुकुरीको मुल्य यत्तिनै भनेर नतोकिएको र अझै यसमा निर्माणको काम बाँकी रहेको उनको भनाई रहेको छ ।
यो खुकुरी तयार गर्न नै ७०÷८० हजार रुपैयाँ खर्च भइसकेको उनको अनुमान छ । नुवाकोट महोत्सवको २१२ नम्वरको स्टलमा लिखु–२ लब्धुका तुलबहादुर विकले तयार गरेको ‘संसारकै ठुलो खुकुरी’ राखिएको छ ।