बोतल र जर्किनमा पेट्रोल बेच्नेलाई अब कारबाही गर्ने प्रहरीको चेतावनी

काठमाडौ । प्रहरीले बोतल र जर्किनमा पेट्रोल बेच्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले एक सूचना जारी गरेर काठमाडौँमा सञ्चालित पेट्रोल पम्पहरूलाई त्यस्तो चेतावनी दिएको हो । काठमाडौँमा सञ्चालित केही पेट्रोल पम्पहरूबाट खुल्ला रूपमा बोतल, जर्किन लगायतका भाँडोमा पेट्रोलियम पदार्थको बिक्री वितरण भएकोबारे ध्यानाकर्षण भएको काठमाडौँ प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसरकाठमाडौँ ले जारी गरेको सूचनामा भनिएको छ–‘पेट्रोल पम्पबाट सवारी साधनमा सिधै भर्ने बाहेक खुल्ला रुपामा बिक्री वितरण गरेको पाइए प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही हुनेछ ।’
असुरक्षित बिक्री र ओसार पसार गर्दा आगलागी हुने र भौतिक क्षति हुने हुनाले सो विषय सुरक्षा संवेदनशीलतासँग जोडिएको प्रहरीको तर्क छ । मङ्गलवार प्रधानमन्त्री प्रचण्ड संसद् भवनबाट बाहिरिँदै गर्दा इलामका प्रेम प्रसाद आचार्यले पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए । ३६ वर्षीय आचार्यले संसद् भवन अगाडी पेट्रोल छर्केर आत्मदाह प्रयास गरेपछि प्रहरीले सो सूचना जारी गरेको हो ।
यसअघि सिभिल मलमा पनि एक जना युवकले पेट्रोल छर्केर आफैँलाई जलाएका थिए । दरबारमार्ग स्थित केल्मी ब्राण्डको शोरुम सञ्चालिका २७ बर्सिया पुष्पा न्यौपानेले १८ मङ्सिरमा पेट्रोल छर्केर आफैँलाई जलाएकी थिइन् । धुम्बाराही स्थित प्रेमी सुदन संग्रैलाको घरको गेटमा गएर पेट्रोल छर्केर आफैँलाई जलाएकी पुष्पाको उपचारको क्रममा मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here