पोखरा । नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङसहित ३३ जनाको समर्थनमा खगराजले मुख्यमन्त्री दाबी गरेका थिए । उनलाई मङ्गलबार प्रदेश प्रमुख गुरुङले मुख्यमन्त्रीको सपथ खुवाउने छन् ।
आइतबार गठबन्धनको बैठकले गण्डकी प्रदेशमा एमालेलाई पूरै कार्यकालका लागि मुख्यमन्त्री दिने सहमति गरेको थियो । सोहीअनुसार उनी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
सांसद नभए पनि तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारमा अधिकारी ६ महिने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भएका थिए ।
२०७८ साल जेठमा उनी केपी ओली नेतृत्वको सरकारमा १३ दिने गृहमन्त्रीसमेत भइसकेका छन् ।
एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुखसमेत रहेका अधिकारीले कास्की –१ (क)बाट निर्वाचन जितेका हुन् । सत्तागठबन्धनमा भएको सहमति अनुसार एमालेले मुख्यमन्त्री पाएपछि माओवादीले सभामुख प्राप्त गरेको छ ।
गण्डकी प्रदेश सभामा ५ दल सहभागी छ । एमाले, माओवादी र राप्रपाको सरकार बन्दा २७ सिट जितेको नेपाली कांग्रेस प्रतिपक्षमा पुगेको छ ।
अधिकारीको राजनीतिक यात्रा
कास्कीको बेगनासमा १३ चैत २०१८ मा जन्मिएका अधिकारीले २०३३ सालदेखि नै राजनीतिक सुरु गरेका थिए ।
२०३७ सालमा पोखराको पृथ्वीनारायण (पिएन) क्याम्पसमा स्ववियू सदस्य भएका अधिकारी २०३८ सालमा अनेरास्ववियूको केन्द्रीय सदस्य भएर काम गरेका थिए ।
अधिकारी त्यसको तीन वर्ष पछाडी अनेरास्ववियू उपाध्यक्ष हुँदा पिएन क्याम्पसमा २०४० सालमा स्ववियू सभापति निर्वाचित भएका थिए ।
२०४२ सालमा स्ववियू सभापति हुँदाहुँदै अधिकारी पक्राउ परेका अधिकारी २०४६ सालसम्म जेलमा बस्नु परेको थियो ।
अधिकारी २०४७ सालमा बनेको प्रजातान्त्रिक राष्ट्रिय युवा संघको केन्द्रीय सदस्य हुँदै राष्ट्रिय राजनीतिकमा प्रवेश गरेका थिए ।
२०५१ सालमा भएको मध्यावधि निर्वाचनमा कास्की–१ बाट प्रतिनिधिसभामा उनी विजयी भएका थिए । अधिकारीले २०५४ सालमा संसदमा दलको सचेतकका रुपमा काम गर्ने मौका पाएका थिए ।
यसैगरी, २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी कास्की–१ बाट विजयी भएका थिए । त्यति बेला उनी संसदमा एमाले प्रमुख सचेतक थिए । उनी ओलीनिटक नेता मान्छिन् । ओलीनिटक नेता भएकै कारण उनीले आफुभन्दा शीर्ष नेतालाई उछिनेर अवसर पाउँदै आएको एमालेको केही नेताहरुले आरोप लगाउँदै आएका छन् ।






