एन्टिबायोटिक धेरै प्रयोग गर्दा हुनसक्छ यस्तो गम्भीर साइड इफेक्टहरु

काठमाडौं । एन्टिबायोटिक शक्तिशाली औषधि हो जसले हाम्रो शरीरमा ब्याक्टेरियाबाट हुने रोगहरूबाट बचाउन मद्दत गर्छ। एन्टीबायोटिक्स भनेको यस्तो रसायनिक तत्व हो, जसले शरीरमा रहेका ब्याक्टरियाहरुलाई मात्र मार्न सक्ने क्षमता राख्छ । ब्याक्टेरियामा भएको कोषिकाहरुमा भएको निश्चित तत्वहरुलाई लक्षित गरेर मार्न सक्ने क्षमता भएको औषधीलाई नै एन्टीबायोटिक्स भन्ने गरिन्छ ।
जब एन्टिबायोटिकहरू डाक्टरले तोकेबमोजिम प्रयोग गरिन्छ, तिनीहरूले छिटो र प्रभावकारी रूपमा संक्रमणहरू मार्न सक्छन्। जसले हामीलाई केही दिनमै राम्रो महसुस गराउँछ। तर, डाक्टरसँग परामर्श नगरी आफैं प्रयोग गर्दा एन्टिबायोटिकहरू प्रभावहीन मात्र होइन हाम्रो स्वास्थ्यका लागि हानिकारक पनि हुन सक्छन्।
नेपालमा एन्टिबायोटिकको प्रयोग धेरै हुने गरेको तथ्याङ्कले नै देखाएका कारण सचेतनाको आवश्यकता परेको स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले जनाएको छ। सामान्य ज्वरो, रुघाखोकी लागेमा एन्टिबायोटिक सेवन गरे निको हुन्छ भन्ने जनविश्वास छ । तर चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक सेवन गर्दा खतरायुक्त हुने गर्दछ ।
कुन एन्टिबायोटिक कुन बिरामीलाई दिने हो, उपचार गर्ने चिकित्सकले बिरामीको शारीरिक अवस्था हेरेर निर्णय गर्छ। कहिलेकाहीँ रोगीलाई एन्टिबायोटिक दिन आवश्यक हुँदैन । यदि अनावश्यक रूपमा एन्टिबायोटिक लिइयो भने, यी औषधिहरूले शरीर भित्र रहेको लाभकारी ब्याक्टेरियालाई पनि नष्ट गर्ने गर्दछ।
धेरै अवस्थामा, यो पनि देख्न सकिन्छ कि एक रोगीलाई एक पटक एन्टिबायोटिक दिए, दोस्रो पटक कम प्रभाव पार्छ वा पटक्कै काम गर्दैन। डब्लुएचओका अनुसार चिकित्सकको सल्लाह बिना एन्टिबायोटिक सेवन गर्दा एन्टिबायोटिक प्रतिरोधी इन्फेक्सन हुन सक्छ। जसका कारण बिरामीलाई लामो समयसम्म अस्पतालमा बस्नुपर्ने हुन्छ । अवस्था गम्भीर भयो भने मृत्यु पनि हुन सक्ने बताएको छ ।
एन्टीबायोटिक्सका कारण हुन सक्ने साइड इफेक्ट:
– पखाला, दिशा लाग्नु।
–मृगौलामा असर पार्ने।
–कानमा असर।
–शरीरमा रोग प्रतिरोधी क्षमतामा र्‍हास आउने।
कतिपय अवस्थामा एन्टिबायोटिक औषधिको प्रयोग घातक पनि हुनसक्छ। जस्तै, गर्भावस्थामा एन्टिबायोटिक औषधि प्रयोग गर्नुहुँदैन। गर्भमा रहेको शिशुलाई कुनै पनि एन्टिबायोटिक औषधिले असर गर्छ। औषधि कति र कसरी सेवन गर्ने भन्ने महत्त्वपूर्ण हुन्छ। औषधि किन्दा केसँग खाने भनेर थाहा हुनुपर्छ। सल्लाहविनै यस्ता औषधि सेवन गरेमा ‘साइड इफेक्ट’ गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here