आज तिहारको पहिलो दिन, काग तिहार

काठमाडौँ । हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरू भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म ५ दिन तिहार मनाइन्छ । यसलाई यमपञ्चक भन्ने पनि चलन छ ।
आज तिहारको पहिलो दिन काग तिहार, कात्तिक ७ गते कार्तिक कृष्ण चतुर्दशीका दिन लक्ष्मी पुजा रहेको छ । ८ गते सूर्य ग्रहण लाग्ने भएका कारण यस वर्ष लक्ष्मी पुजा ७ गते नै हुने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
कात्तिक ९ गते कार्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवद्र्धन पूजा, नेवारी समुदायले मनाउने नयाँ वर्ष अर्थात् नेपाल संवत् ११४३, र म्हपूजा अर्थात् आत्मपूजा एवम् तिहारको अन्तिम दिन कार्तिक शुक्ल द्वितीयाका दिन भाईटीका लगाई तिहार पर्व मनाइन्छ ।
कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ ।
यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गरिन्छ ।
आजको दिन कागलाई पूजा आजा गरी खान नदिइकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । वैदिक सनातन हिन्दू धर्मानुसार कागलाई यमदूतका रुपमा मानिन्छ ।
आजैका दिनदेखि यम दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यम दीप दान दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।
तिहारको अन्तिम दिन कात्तिक १० गते मङ्गलबार कार्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीले दाजुभाईलाई दीर्घायु र सुख शान्तिको कामना गर्दै टीका लगाइन्छ । ।
यस वर्ष कात्तिक १० गते मध्याह्न ११ बजेर ३७ मिनेटमा भाईटीकाको साइत उत्तम रहेको समितिले जनाएको छ । भाईटीकाका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइत खोज्नेका लागि ११ बजेर ५२ मिनेटको साइत शुभ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here