तिहार आज देखि विधिवत् सुरु

काठमाडौं । तिहार अर्थात् दीपावली शुक्रबारदेखि विधिवत् सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहारको पहिलो दिन शुक्रबा ‘धनतेरस’ मनाइँदै छ ।
तिहारको पहिलो दिन आज धातुका नयाँ सामान जोडेर धनतेरस मनाउन लागिएको हो । कात्तिक कृष्ण त्रयोदशीको रात पर्ने दिनलाई ‘धनतेरस’ भनिन्छ । यस दिन नयाँ धातुका सामान किनेर पूजाआराधना गर्दै तिहार पर्व प्रारम्भ गर्ने परम्परा छ ।
घरघरमा आजै साँझदेखि उज्याला बत्ती बालेर नयाँ किनिएका धातुका सामान र धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिन्छ ।
दीपावली मुख्यतः धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिने पर्व भएको हुँदा पहिलो दिन नै नयाँ वस्तु जोडेर लक्ष्मी खुशी पार्न यो पर्वको परम्परा चलेको हो । तिहारको पहिलो दिन नै बजारबाट किनेर ल्याइएको धातुका गहना वा भाँडालाई लक्ष्मीको प्रतिमा स्थापित गरिएका ठाउँमा पूजा गरेर यो पर्व विधिवत सुरु गरिने परम्परा छ । सन्ध्याकालमा दीप प्रज्ज्वलनसँगै धनतेरसको पूजा गरेर तिहार पर्व सुरु गरिन्छ । पर्व विशेषका कारण आज तामा, पित्तल र काँशका भाँडा पसल तथा सुनचाँदीका गहना बनाउने पसलमा ग्राहकको भीडभाड रहन्छ । आज किनिएको सामान शुभफल दिने, टिकाउ र नाफा दिने हुने जनविश्वास छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here