१५ महिनामा ३८ हजारले लिए डलर कार्ड

काठमाडौ । सञ्चालनमा आएको करिब १५ महिनामा डलर कार्डमार्फत साढे ७ करोड रुपैयाँ बराबरको भुक्तानी भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले गत चैत, २०७७ मा एकीकृत निर्देशिका २०७६ संशोधन गर्दै बैंकहरुले प्रतिव्यक्ति ५०० डलरसम्मको डलर कार्ड जारी गर्न पाउने व्यवस्था गरेको थियो । सोही व्यवस्था बमोजिम २०७९ असार मसान्तसम्म ३८ हजार ६६ वटा डलर कार्ड जारी भएको राष्ट्र बैंकले जनाएको हो । 

जसमार्फत हालसम्म (२०७९ असार मसान्त) कुल ६१ लाख ३३ हजार डलर (करिब साढे ७ करोड रुपैयाँ) विभिन्न शीर्षकमा बाह्य भुक्तानी भएको केन्द्रीय बैंकका कार्यकारी निर्देशक रामु पौडेलले जानकारी दिए । 
पौडेलका अनुसार असार मसान्तसम्म विभिन्न बैंकमार्फत ५०० डलरका ३८ हजार ६६ वटा डलर कार्ड जारी भएको र सो कार्डहरूमा कुल ९३ लाख ८५ हजार डलर (करिब सवा अर्ब रुपैयाँ) लोड भएको छ । जसमध्ये हालसम्म ६१ लाख ३३ हजार डलर खर्च (भुक्तानी) भएको छ ।

गत मंसिर, २०७८ मा करिब २० हजार डलर कार्ड जारी भएकोमा त्यसयता मात्र करिब १८ हजार डलर कार्ड थप जारी भएका छन् । खासगरी डलर कार्डमार्फत जिम्याट, जिआई, जर्नरहरुको सब्स्कृप्सनको भुक्तानीमा कार्डको प्रयोग भएको राष्ट्र बैंकको भनाइ छ । 

वस्तु तथा सेवाको आयातमा एलसी प्रक्रियाबाट नै भुक्तानी हुने भएपनि सो बाहेकका साना तथा छुटफुट सेवा तथा सर्भिसका क्षेत्रमा डलर कार्डमार्फत भुक्तानी हुने गरेको पौडेलको भनाइ छ । जसले प्रयोगकर्ताहरूलाई सहजता मिले सँगै पछिल्लो समय डलर कार्डको प्रयोगकर्ताहरूमा समेत वृद्धि आएको उनको भनाइ छ ।
यद्यपि, डलर कार्डमार्फत कुन क्षेत्रमा कति खर्च भइरहेको छ र कहाँ गइरहेको छ भन्ने जानकारी समेत सम्बन्धित बैंकमार्फत नै विवरण प्राप्त हुने हुँदा डलर कार्डको दुरुपयोग हुने संभावना अत्यन्त न्युनतम भएको उनको तर्क छ । तर, यसबाहेक ठूलो रकम भुक्तानी गर्नुपरे भने सम्बन्धित व्यक्तिले राष्ट्र बैंकसँग नै अनुमति लिनुपर्ने उनले बताए ।
राष्ट्र बैंकले २०७७ चैत ८ गते ‘एकीकृत निर्देशिका, २०७६’ संशोधन गर्दै भुक्तानी प्रयोजनको लागि बैंकहरुले ५०० डलरसम्मको प्रिपेड कार्ड जारी गर्न सक्ने व्यवस्था गरेको थियो । सोही सुविधाअनुसार बैंकहरुले डलर कार्ड जारी गर्दै आएका छन् । यसअघि डलर खाता भएकाले मात्रै विदेशमा डलरमा भुक्तानी गर्न सक्ने व्यवस्था थियो । तर, केन्द्रीय बैंकले ५०० डलरको डलर कार्डको व्यवस्था गरेसँगै अन्य खातावाला व्यक्तिले समेत सहजै विदेशी मुद्रामा भुक्तानी गर्न सक्ने भएका छन् ।
यस्तो भुक्तानी विदेशी सफ्टवेयर, सपिङ्ग, नेटफ्लिक्स, अमेजन जस्ता प्लेटफर्मका भुक्तानी समेत आफ्नै कार्डमार्फत व्यक्तिले गर्न सक्ने छन् भने सामाजिक सञ्जालमार्फत आफ्नो व्यवसायको विज्ञापन र भुक्तानी समेत आफैले गर्न सक्नेछन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here