चीनबाट भदौ २७ देखि २९ गते सम्म नेपालमा उच्च तहको भ्रमण हुँदै

काठमाडौँ । नेपालमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको चहलपहल भइरहेको बेलामा उत्तरी छिमेक चीनबाट उच्चतहको भ्रमण हुन लागेको छ । चीनका राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुले नेपालको तीन दिने भ्रमण गर्न लागेका हुन् ।

परराष्ट्र मन्त्रालय र संघीय संसद सचिवालयको स्रोत अनुसार सीले भदौ २७ देखि २९ सम्म तीन दिनेसम्म नेपालको भ्रमण गर्न लागेका हुन् । उनी प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको निमन्त्रणामा नेपाल आउन लागेका हुन् । सापकोटाले गत चैत २५ मा भएको भिडियो संवादका दौरान लीलाई नेपाल भ्रमणको नियन्त्रणा दिएका थिए । केही दिनमा उक्त भ्रमणको विषयमा औपचारिक घोषणा गर्ने तयारी भइरहेको स्रोतले बतायो ।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का वरिष्ठ नेतामा पर्छन्, ली । चीनको संविधान अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङपछि ली दोस्रो वरियताका नेता हुन् । तर सीपीसी पार्टीको विधान अनुसार राष्ट्रपति सी, त्यसपछि प्रधानमन्त्री ली खछ्याङ र त्यसपछि तेस्रो वरियतामा ली पर्छन् । चिनियाँ राष्ट्रपति सीपछि नेपाल भ्रमण गर्ने ली अर्को उच्च तहका नेता हुन् ।
सीले २३ वर्षपछि नेपालमा २०७६ साल असोज २५ र २७ मा उच्च तहमा राजकीय भ्रमण गरेका थिए ।

चीनबाट पछिल्लो समय पटक–पटक नेपालको भ्रमण भइरहेको छ । गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमण गरेका थिए भने त्यसपछि चिनियाँ विदेश विभागका प्रमुख लिउ जियानचाओले नेपालको भ्रमण गरेका थिए ।
अघिल्लो महिना नेपालको तर्फबाट परराष्ट्रमन्त्री नारायण खड्काले पनि चीनको भ्रमण गरे ।
स्रोतका अनुसार लीले सभामुख सापकोटासहित राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासहित राजनीतिक दलका शीर्ष नेताहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here