धादिङमा ४५ करोड ६५ लाख लागतमा ‘धादिङबेशी सह–लगानी खानेपानी आयोजना’को शिलान्यास

धादिङ जिल्लाको सदरमुकाममा रहेको नीलकण्ठ नगरपालिका–३ मा धादिङबेशी सह–लगानी खानेपानी आयोजनाको शिलान्यास गरीएको छ । सोमबार एक कार्यक्रमका बिच नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुंगानाले आयोजनाको शिलान्यास गर्नुभएको हो ।
संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना चितवनले कार्यन्वयन गर्ने खानेपानी आयोजना नीलकण्ठ नगरपालिकाको वडा नम्बर २, ३,४ र १२ मा संञ्चालन हुनेछ ।

नेपाल सरकारको ७० प्रतिशत र नीलकण्ठ नगरपालिकाको ३० प्रतिशत लगानीमा बन्ने खानेपानी आयोजना २०८२ साल जेठको १२ गते सम्पन्न गर्ने गरि सगुन कन्स्ट्रक्सन, बुटवल रुपन्देहीले ठेक्का सम्झौता गरेको छ । ४५ करोड ६५ लाख ७३ हजार लागतमा बन्ने खानेपानी आयोजनामा प्रति दिन ५३ लाख ७८ हजार ४ सय लिटर पानी अट्ने ३ ओटा ईन्टेक, २१ दशमलव ८६ किलोमिटरको मुख्य पाईप लाईन, ६४ दशमलव ६६ किलोमिटर शाखा पाईप लाईन र २ ओटा प्रशोधन केन्द्र निर्माण हुनेछ ।
यस्तै ६ ओटा पानीपोखरी, समितिको कार्यालय भवन, चौकीदार घर र ५ हजार १ सय ६४ ओटा निजी धारा निर्माण हुनेछन् । खानेपानी आयोजनाबाट ४ ओटा वडाका ५ हजार १ सय ६४ घरका २५ हजार ६ सय २८ लाभान्वित हुने कार्यक्रममा जानकारी गराईएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर ढुंगानाले नगरवासीलाई गुणस्तरीय र शुद्ध पिउने पानी प्रदान गर्न योजनाबद्ध ढङ्गले अगाडि बढिरहेको बताउनुभयो । नीलकण्ठ नगरपालिकालाई समृद्ध बनाउनको लागि ठूला ठूला आयोजनाहरु ल्याउने प्रक्रियामा रहेको भन्दै सबैको सहयोग आवश्यकता रहेको बताउनुभयो । ढुङ्गानाले तोकिएकै समयमा गुणस्तरीय ढङ्गले योजना निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिदैं प्राविधिक र उपभोक्ता समितिलाई सहजीकरण र गुणस्तर कायममा अनुगमन गर्न समेत आग्रह गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here