नागरिकता विधेयक सदनबाटै आज पारित हुने

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता गरेको नेपाल नागरिकता ऐन संशोधन विधेयक बिहीबार नै पारित हुने भएको छ। सत्ता गठबन्धनको निर्णयअनुसार गृहमन्त्री बालकृष्ण खाणको आग्रहमा संसद्ले विधेयक पारित तयारी गरेको हो।
राष्ट्रपतिले साउन २९ गते सन्देशसहितको विधेयक प्रतिनिधि सभामा फिर्ता गरेकी थिइन् साउन ३० गते विधेयक फिर्ताको सन्देश प्रतिनिधि सभामा पेस गरिएको थियो।

सत्ता गठबन्धनमा आबद्ध दलहरूले विधेयक पुनर्विचारका लागि पठाए पनि जस्ताको तस्तै अघि बढाउने समझदारी गरेको थियो। गठबन्धनको निर्णय र सरकारको आग्रहअनुसार प्रतिनिधि सभामा बिहीबार गृहमन्त्री खाणले सन्देशसहित फिर्ता आएको विधेयकमा विचार गरियोस् प्रस्ताव पेस गर्नेछन् त्यसपछि सन्देशमा उठाइएका विषयमा आधारित भएर छलफल हुनेछ। छलफलपछि विधेयक पारितको कार्यसूची रहनेछ।

यस पटक पनि विधेयक समितिमा नपठाई सदनबाटै पारित गर्न लागिएको हो। यसअघि पनि नागरिकता विधेयकको प्रक्रिया ‘फास्ट ट्र्याक’मै अघि बढेको थियो। विधेयक दफावार छलफल समितिमा नपठाई सदनमै भएको थियो। पारितका अन्य प्रक्रिया भने यथावत् राखिएको थियो। राष्ट्रिय सभामा पनि विधेयक समितिमा नपठाई छलफल गरेर पारित गरिएको थियो। राष्ट्रपतिको सन्देशअनुसार विधेयक पुनर्विचार गर्न चाहेमा उक्त प्रक्रिया भने सदनमा पनि पूरा हुन सक्नेछ। संसद्ले विधेयकलाई यथास्थितिमा वा परिमार्जन गरेर पठाउन सक्ने सुविधा छ। प्रतिनिधि सभाको प्रक्रिया पूरा भएपछि विधेयक राष्ट्रिय सभामा जानेछ। दुवै सदनबाट पारित विधेयक प्रमाणीकरणका लागि पेस भएको १५ दिन प्रमाणीकरण हुनुपर्ने संवैधानिक व्यवस्था छ।
यसअघि दुवै सदनबाट पारित भई साउन १५ गते प्रमाणीकरणका लागि पठाइएको थियो तर विधेयक प्रमाणीकरण नगरी राष्ट्रपति भण्डारीले केही व्यवस्थामा ध्यानाकर्षण गराउँदै पुनर्विचारका लागि फिर्ता पठाएकी थिइन्। फिर्तामा सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको मिश्रित प्रतिक्रिया हुँदा प्रमुख प्रतिपक्षी दल एमालेले भने स्वागत गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here