फोनिज धादिङ द्वारा आयोजित अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न

धादिङ । २८ औं विश्व आदिवासी दिवस र २३ औं फोनिज स्थापना दिवसको अवसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा धादिङले सरोकारवाला निकाय र पत्रकारबीच आदिवासी जनजातिको सवाल र पत्रकारको भुमिकाबारे धादिङबेसीमा शुक्रबार अन्तरक्रिया कार्यक्रम गराएको छ ।

साथै सोही समारोहमा फोनिज क्रियाशिल वर्ष पुरस्कार–२०७९’ बाट पत्रकार शंकर श्रेष्ठ पुरस्कृत हुनुभएको फोनिज धादिङका सचिव रेख बहादुर गुरुङले बताउनु भयो । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) धादिङले यो वर्षबाट स्थापना गरेको ‘फोनिज क्रियाशिल वर्ष पुरस्कार–२०७९’ प्रदान गर्न थालेको हो । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्ग (फोनिज) को २३ औ स्थापना दिवसको अवसरमा फोनिज धादिङले श्रेष्ठलाई नगद रु पाँच हजार र सम्मान पत्रसहित निलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले पुरस्कार वितरण गर्नुभएको हो । पुरस्कृत हुनुहुने फोनिज वागमती प्रदेश समितिका कोषाध्यक्ष श्रेष्ठ नागरिक दैनिक र पाविल साप्ताहिकमा कार्यरत हुनुहुन्छ ।

पछिल्लो समय आधुनिकताको नाममा वा बाह्य संस्कृतिका कारण नेपालको आदिवासी जनजातिको संस्कृतिमा विचलन आएको अन्तरक्रियामा सहभागीहरुले औल्याएका छन् । आदिवासी जनजातिहरुको संस्कार, सस्कृति र परम्पराको जगेर्ना गर्दै नेपाली श्रोत साधनका मालिक भनेको आदिवासी जनजाति हुन् भन्ने कुराको पहिचान गराउन स्थानीय सरकारले पहल गर्नुपर्ने नीलकण्ठ नगरपालिकाका उपमेयर दिपक विश्वकर्माले बताए । विकटमा बसोबास गर्ने जनजातिका भाषा, सस्कृति र परम्पराको जगेर्ना गर्दै शिक्षामा जोड दिएर सीप र आयआर्जनसँग जोड्न सके आदिवासीको पहिचान स्थापित हुनेमा विश्वकर्माले जोड दिए ।

अहिले पहिचानको विषय नेपाली राजनीतिमा सबैभन्दा महत्वपूर्ण राजनैतिक मुद्धा बनिरहेको पनि अन्तरक्रियामा सहभागीहरुले बताएका छन् । ‘राजनैतिक पार्टीहरूले समेत यो पहिचानको विषय आदिवासी जनजातिको मात्रै हो भन्ने तर्क गर्छन् यहाँ नेर नै नेताहरू सही विश्लेषण गर्न चुकिरहेका छन्’, नेपाल आदिवासी जनजाति समन्वय परिषद धादिङका पूर्व अध्यक्ष हरिशंकर गिदेल मगर भन्छन्–‘यदि पहिचान हरायो भने कुनै जाति वा समुदायको अस्थित्व कायम रहन सक्दैन ।’ पहिचान भन्ने विषय कुनै शासक वा सम्राटले चाहेर पनि क्षणभरमै निर्माण गर्ने र मेटाउने विषय वस्तु नरहेकोले यसको अस्तित्व जोगाइराख्न जातीय संघसस्थाहरु सक्रिय रहनुपर्ने मगरले बताए ।

अन्तरक्रियामा बोल्दै नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले आदिवासी जनजातिहरुको सशक्तिकरण अभियानमा फोनिजको भूमिका महत्वपूर्ण रहने बताए । जनजातिका ज्ञान, सीपको उजागर गर्न र जिवित संग्राहलय स्थापनामा गरी आदिवासी जनजातिको कला सस्कृतिलाई पर्यटनसँग जोड्न सकिने शर्माले बताए । सामाजिक संजालमा लेखिएका विचारहरुलाई पनि आम जनमानसले पत्रकारितासँग जोडिदिने र त्यसले समाजमा फैलाउने गरेको नकारात्मक भ्रमले पत्रकारिता पेशालाई नै चुनौति दिएकोले यस्ता चुनौतिसँग एक भएर लड्न फोनिजकर्मीहरुलाई आग्रह गरे । फोनिजको सक्रियताले नेपाल पत्रकार महासंघ नै सक्रिय रहने पनि शर्माले विश्वास व्यक्त गरे ।

नेत्रावती डबजोङ गाउँपालिकाका प्रवक्ता एवं् वडा नं. १ का वडा अध्यक्ष ठाकुर गुरुङले आदिवासी जनजातिहरुको जातीय सवाललाई माथी उठाउन सहयोग गरिदिन स्थानीय सरकारहरुसँग माग गरे । फोनिज र फोनिजमा आवद्ध पत्रकारहरुलाई आफुले सक्दो सहयोग गर्ने पनि गुरुङले बताए ।

फोनिज संघीय समितिका सदस्य उद्धव चेपाङले आदिवासी जनजातिको परम्परा, रीतिरिवाज र साँस्कृतिक पहिचानले सिंगो देशलाई नै चिनाइरहेको बताए । संरक्षण सशक्तिकरण वा विकासका लागि कानून बमोजिम विशेष व्यवस्था गर्न पनि सरकारसँग माग गरे । ‘आदिवासी जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परा रीतिरिवाज, छुट्टै साँस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहार भएको जाति वा समुदाय सम्झनुपर्छ’, चेपाङले भने ।

कार्यक्रममा सहभागी जातीय संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरु र पत्रकार संघ संगठनका प्रमुखहरुले पनि आदिवासी जनजातिको सवाल सरकारको प्राथमिकतामा नपरेको बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here