सत्ता गठबन्धनमा सिट बाँडफाँट बारे पहिलो बैठक आज बस्दै

काठमाडौँ । सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक सोमबार बस्दैछ । सरकारले आगामी मंसिर ४ गतेका लागि संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गरेलगत्तै गठबन्धन दलले चुनावमा तालमेल गरेर जाने सहमति गरेका छन् ।

गठबन्धनले पाँचवटै दलका नेता सम्मिलित ११ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलको पहिलो बैठक सोमबार बस्न लागेको हो ।
दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको कार्यदलका एक सदस्यले जानकारी दिए । गठबन्धनले कार्यदललाई श्रावण मसान्तभित्र सिट बाँडफाँटको खाका तयार गरी बुझाउन भनेको छ ।
ती नेताका अनुसार सोमबार बस्ने बैठकले कार्यदलले कसरी काम गर्ने भन्नेबारे समेत टुंगो लगाउनेछ । त्यसपछि कार्यदलले काम थाल्नेछ ।

कार्यदलमा नेपाली कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, नेता कृष्णप्रसाद सिटौला र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट वर्षमान पुन र जर्नादन शर्मा छन् ।
यस्तै, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here