राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनको वर्चश्व, को-को कहाँ बाट भए निर्वाचित ?

राष्ट्रियसभाका १९ पदका लागि बुधबार भएको निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनले वर्चश्व कायम गरेको छ। गठबन्धनले १८ सिट जित्दा एमाले एक सिटमा सीमित रहन पुग्यो। कांग्रेस ६, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी ५/५, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले एक/एक स्थान जितेका हुन्। 
यससँगै राष्ट्रियसभामा कांग्रेसले ३, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाले १/१ सिट बढाएका छन्। निर्वाचन आयोगको तथ्यांकअनुसार माओवादी केन्द्रले १५, कांग्रेसले १० र एकीकृत समाजवादीले ८, जसपाले ३ सिट पुर्‍याएका छन्। यस्तै, राष्ट्रियसभामा जनमोर्चाको प्रवेश भएको छ। यद्यपि, पहिलो ठूलो दल भने एमाले नै यथावत् छ। उसको १७ सिट छ।  
प्रदेश १ मा महिलातर्फ एकीकृत समाजवादीकी जयन्तीदेवी राई र अन्यतर्फ कांग्रेसका गोपालकुमार बस्नेत विजयी भएका छन्। राईले एमालेकी सुमित्रा सुवेदी भण्डारीलाई पराजित गरिन्। बस्नेत एमालेका गुरु बरालसँग मत बराबरी हुँदा गोला तानेर विजयी भएका हुन्। अपांगता भएका व्यक्ति वा अल्पसंख्यकतर्फ भने एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन्। गठबन्धनबाट उम्मेदवार बनेका जनता समाजवादी पार्टीका हेमराज राईलाई शेर्पाले पराजित गरेका हुन्। 
मधेसबाट महिलातर्फ माओवादी केन्द्रकी उर्मिला अर्याल र अन्यतर्फ जसपाका मोहम्मद खालिद सिद्धिकी, बागमतीबाट अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद पौडेल र महिलातर्फ एकीकृत समाजवादीकी गोमा तिमल्सिना विजयी भएका छन्। गण्डकीबाट महिलातर्फ कांग्रेसकी कमला पन्त, दलिततर्फ माओवादी केन्द्रका भुवन सुनार र अन्यतर्फ माओवादी केन्द्रकै सुरेश आले मगर राष्ट्रियसभा सदस्य बनेका छन्। उनीहरूसँग एमाले उम्मेदवार क्रमशः लीला थनेत, अर्जुन सुनाम र पुण्य पौडेल प्रतिस्पर्धामा थिए। लुम्बिनीबाट कांग्रेसका युवराज शर्मा, एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा निर्वाचित भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। 

को–को भए निर्वाचित ?

प्रदेश १
    जयन्तीदेवी राई (एकीकृत समाजवादी)
    सोनम ग्याल्जेन शेर्पा (एमाले)
    गोपालकुमार बस्नेत (कांग्रेस)
मधेस 
    उर्मिला अर्याल (माओवादी)
    मोहम्मद खालिद सिद्धिकी (जसपा) 
बागमती  
    गोमादेवी तिमल्सिना (एकीकृत समाजवादी) 
    कृष्णप्रसाद पौडेल (कांग्रेस)
गण्डकी 
    कमला पन्त (कांग्रेस)
    सुरेश आले मगर (माओवादी) 
    भुवनबहादुर सुनार (माओवादी) 
लुम्बिनी
    युवराज शर्मा (कांग्रेस)
    राजेन्द्रलक्ष्मी गैरे (एकीकृत समाजवादी) 
    तुलबहादुर विश्वकर्मा (जनमोर्चा) 
कर्णाली 
    दुर्गा गुरुङ (कांग्रेस)
    उदयबहादुर बोहरा (एकीकृत समाजवादी)
    नरबहादुर विष्ट (माओवादी केन्द्र)
सुदूरपश्चिम
    नारायणदत्ता मिश्र (कांग्रेस) 
    मदनकुमारी शाह (गरिमा) (एकीकृत समाजवादी)
    जगतबहादुर पार्की (माओवादी केन्द्र)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here