आन्दोलित वकिलहरू बिहिबार उपत्यकाभित्रका अदालत र न्यायाधिकरणमा धर्ना दिँदै !

कार्तिक – २५ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाको माग गर्दै आन्दोलित वकिलहरूले बिहिबार काठमाडौं उपत्यकाभित्रका सबै अदालत र न्यायाधिकरणमा धर्ना दिँदैछन्।

नेपाल बार एशोसिएसनको अगुवाईमा भइरहेको धर्ना कार्यक्रममा वकिलहरूले हातमा कालो पट्टी बाँधेर उपस्थित भएका छन्।
नेपाल बारले घोषणा गरेको दोस्रो चरणको आन्दोलन कार्यक्रम अन्तर्गत आज बिहान १० बजेदेखि १२ बजेसम्म अदालत र न्यायाधिकरणमा वकिलहरूले धर्ना दिन लागेका हुन् ।

कात्तिक १४ देखि १७ गतेसम्म वकिलहरूले प्रधानन्यायाधीश राणाविरूद्ध हातमा कालोपट्टी बाँधेर सर्वोच्च अदालत र बार एसोसिएसन परिसरमा विरोध प्रदर्शन गरेका थिए। त्यसपछि तिहारको बिदा सुरू भएको थियो।

मन्त्रिपरिषद, संवैधानिक परिषद लगायतमा भाग मागेको, सर्वोच्चले गरेका फैसला देखाएर सौदाबाजी गरेको र गोलाप्रथाबाट पेसी तोक्छु भनेरपछि हटेकोलगायत विषयमा प्रधानन्यायाधीशको न्यायीक विचलन देखिएको भन्दै नेपाल बारले उनको राजीनामा मागेको थियो।
सत्तासँग सौदाबाजी गर्ने न्यायालयलाई विवादमा पारिरहेको भन्दै सर्वोच्चका सबै न्यायाधीशहरूले पनि प्रधानन्यायाधीशको राजीनामा मागेका छन्। उनीहरूले राजीनामा नदिउन्जेल प्रधानन्यायाधीश राणाले तोकेका बन्दी प्रत्यक्षीकरणबाहेक कुनै पनि मुद्दा नहेर्ने अडानमा छन्।
दसैंअघि मन्त्रिपरिषद विस्तार हुँदा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश राणाले मागेको भागमा उनकै जेठान गजेन्द्र हमाललाई नियुक्त गरेका थिए। चर्को विवादपछि हमालले राजीनामा दिए।
प्रधानन्यायाधीशले सत्तामा भाग खोजेर न्यायीक विचलन निम्त्याएको भन्दै न्यायाधीशहरू र नेपाल बार एसोसिएसन समेत आन्दोलनमा छ।

यसैबीच नेपाल बार एसोसिएसनले न्यायपरिषदका सदस्यलाई पत्र लेख्दै प्रधाननन्यायाधीश चोलेन्द्र शमसेर राणाले बोलाएको बैठकमा नजान आग्रह गरेको छ। 
प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बारले बुधबार न्यायपरिषदका सबै सदस्यलाई पत्राचार गरेर यस्तो आग्रह गरेको हो। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here