तिहार लक्षित सामाग्रीहरुको भाउ आकाशियो – सुची सहित विवरण

उज्यालाको चाड हो, तिहार । यति बेला मुख्यतः विद्युतीय बत्ती (झलर), भाइमसलालगायत वस्तुको खपत बढी हुन्छ । तर यही समयमा यिनै वस्तुको मूल्य अचाक्ली बढिरहेको छ । दसैंमा मूल्य बढाएर लुट मच्चाएका केही व्यवसायीले तिहारका सामग्रीमा पनि सोही बाटो अपनाएका छन् । तिहारलाई अत्यावश्यक चिनी, आँटा–मैदा, काजु, किसमिस, नरिवल, छोकडा, ओखरलगायत वस्तुको मूल्य अत्यधिक छ ।

‘खाद्यान्नमा आँटा, मैदाको मूल्य बोरा (५० किलो) मा २ सय रुपैयाँ बढेको छ । दसैंअघि प्रतिकिलो ८४/८५ रुपैयाँ रहेको चिनी अहिले होलसेलमै ९२/९३ रुपैयाँ पुगेको छ । ड्राई फुडको अवस्था पनि उस्तै छ,’ खुद्रा व्यापार संघका महासचिव अमूलकाजी तुलाधरले भने, ‘मूल्य किन एक्कासि बढ्यो, खुद्रा व्यापारीलाई थाहा भएन । मूल्यवृद्धिमा आयातकर्ता र उत्पादक नै दोषी हुन् ।’ आयातकर्ताले मनपरी गर्दा तिहार लक्षित सामग्रीको मूल्य बढेको उनको भनाइ छ । पछिल्लो समय भइरहेको मूल्यवृद्धिका विषयमा वाणिज्य तथा आपूर्ति सचिवलाई जानकारी गराइएको तुलाधरले बताए ।
नेपाल खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले भने गहुँ, मैदा र आँटा अभावका कारण मूल्य बढेको दाबी गरे । ‘स्वदेशी उत्पादन पर्याप्त नभएपछि भारतबाट ल्याउनुपर्छ । पछिल्लो समय त्यहाँ पनि मूल्य बढेको छ,’ श्रेष्ठले भने, ‘जसले गर्दा यहाँ केही असर परेको हो ।’ चिनी पनि सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसनसँग मौज्दात नहुँदा व्यापारीहरूले यसको मूल्य बढाउने मौका पाएको उनले बताए । ‘अहिले सरकारसँग चिनी छैन । आयातकर्ताले पनि पर्याप्त ल्याएका छैनन्,’ उनले भने, ‘त्यही भएर चिनीको मूल्य बढ्यो । एक महिनाको तुलनामा होलसेलमा प्रतिकिलो ५ रुपैयाँ बढेर ९२ रुपैयाँ पुगेको छ ।’
होलसेलमै ९२ रुपैयाँ हुँदा खुद्रा पसल र उपभोक्तासम्म आइपुग्दा किलोकै करिब एक सय रुपैयाँ पर्ने देखिन्छ । यता, साल्टले भने प्रतिकिलो ७९ रुपैयाँमा बिक्री गरिरहेको छ । यद्यपि, साल्टसँग पर्याप्त मौज्दात छैन । ‘करिब २ सय टन होला, साल्टको आउटलेटमा आउने ग्राहकलाई २ किलोका हिसाबले दिएका छौ,’ साल्टका सहमहाप्रबन्धक कुमार राजभण्डारी भने, ‘उक्त चिनी तिहारसम्म पुग्न सक्छ । छठका लागि थाहा छैन ।’ चिनीको माग भने छठसम्मै हुन्छ ।

साल्टसँग चिनीको मौज्दात सकिँदै गर्दा अर्थ मन्त्रालयको सहमतिमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहुलियतमा आयात गर्न प्रस्ताव गरेको थियो । तर अर्थले अभाव नहुने भन्दै आयात अनुमति दिएन । सोही कारण अहिले सर्वसाधारणलाई चिनी अचाक्ली महँगो परेको हो । बजारभाउ बिस्तारै बढ्दो छ । ‘निजी व्यवसायीसँग सामान नभएको होइन, सरकारसँग सामान नहुँदा व्यवसायीले मनलाग्दी मूल्य गरे,’ एक होलसेल व्यवसायीले भने, ‘अब एक ट्रक चिनी मगाउँछन् । तर यहाँ रहेको ५ ट्रक स्वदेशी चिनी बढेको मूल्यमै बिक्री गर्छन् ।’
खाने तेलमा पनि मूल्य बढेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरीक्षण अधिकृत धनेश्वर पौडेल बताउँछन् । ‘लिटरको २६८ रुपैयाँ पर्ने तेलको मूल्य २९५ रुपैयाँ पुर्‍याइएको छ । तिहारलक्षित कपडाको मूल्य, झिलीमिली बत्ती र चिनीमा मूल्य बढेको छ,’ उनले भने । थोक मूल्यमा ५० किलोको बोराको २१५० रुपैयाँ पर्ने मैदा बढेर २५०० रुपैयाँ पुगेको छ । आँटा २१ सय रुपैयाँबाट २४ सय रुपैयाँमा बिक्री भइरहेको छ ।
तिहारमा भाइमसलाका रूपमा प्रयोग हुने ड्राई फुडको मूल्य पनि अकासिएको छ । काजु, किसमिस, बदाम र ओखरको मूल्य झन्डै २५ प्रतिशत बढेको नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंका वाणिज्य तथा आपूर्ति समिति सभापति दुर्गाराज श्रेष्ठले बताए । छोकडा बजारमा पाउन मुस्किल नै छ । केही पसलमा भेटिए पनि मूल्य छोइनसक्नु छ । नेपाल वितरक संघका निवर्तमान अध्यक्षसमेत रहेका श्रेष्ठका अनुसार काजुको होलसेल मूल्य प्रतिकिलो १५०० रुपैयाँ पर्छ ।
सुकमेल प्रतिकिलो २९०० रुपैयाँ, किसमिस प्रतिकिलो ४२५ रुपैयाँ, ल्याङ प्रतिकिलो १२८० रुपैयाँ, पेस्ता प्रतिकिलो १६६० रुपैयाँ, बदाम प्रतिकिलो १०७५ रुपैयाँ र ओखर प्रतिकिलो ५२५ रुपैयाँ पर्छ । ‘उक्त मूल्यमा १०/१२ प्रतिशत जोडर खुद्रा व्यापारीले उपभोक्तालाई बेच्छन्,’ उनले भने । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत व्यापार समितिका उपाध्यक्ष ओमप्रकाश वंशलले भने केही वस्तु नाकामा रोकिएकाले बजारमा समस्या देखिएको प्रतिक्रिया दिए । बजारमा नरिवल, छोकडा, ओखरलगायतमा समस्या देखिएको उनको भनाइ छ । काजु र नरिवल भारतको केरलाबाट आउने गरेको छ । तर वर्षा र बाढीका कारण सामान समयमै आउन सकेन ।
छोकडा पाकिस्तानबाट आउँछ । त्यहाँबाट पनि पर्याप्त आउन नसकेको वंशलले बताए । ओखर केरुङ नाका भएर आउने गरेको छ । केरुङ नाका सहज नहुँदा त्यहाँ पनि उस्तै समस्या छ । ‘केही प्राविधिक कठिनाइका कारण समयमै पर्याप्त मात्रामा वस्तु आयात हुन सकेन । अभाव भएपछि केही प्रतिशत मूल्य बढ्नु स्वाभाविक हो,’ वंशलले भने, ‘अहिले माग छ तर आपूर्तिमा समस्या छ ।’
विद्युतीय झलरमा २५ देखि ३० प्रतिशत मूल्यवृद्धि
तिहारमा घर सजाउन प्रयोग हुने विद्युतीय झलरको मूल्य पनि २५ देखि ३० प्रतिशत बढेको छ । ढुवानी भाडा र लागत बढेसँगै आयातमा कमी हुँदा मूल्य बढेको व्यवसायीहरूको दाबी छ । व्यवसायीका अनुसार बत्ती चीन र भारतबाट आयात हुन्छ ।
कोभिडका कारण आयात सहज नहुँदा थप मूल्य बढाइदिएको हो । ‘लागत र ढुवानी भाडा अत्यधिक बढेको छ । आयातमा कमी हुँदा पनि केही असर गरेको देखिन्छ,’ नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शन पौडेलले भने ।
काठमाडौं विद्युत् व्यवसायी संघका अध्यक्ष सरोजकुमार रेग्मीले पनि सामान नभएरै मूल्य बढेको प्रतिक्रिया दिए । ‘खपत राम्रो भए पनि यसपालि सामान आयात हुन सकेन । त्यसैले पर्याप्त सामान छैन,’ उनले भने ।
मूल्य नियन्त्रण गर्ने निकाय नेतृत्वविहीन, महानगरपालिकाको अनुगमन स्वार्थकेन्द्रित बजारमा मूल्य बढिरहँदा नियामक निकाय भने मौन छन् । बजार मूल्य हस्तक्षेप गर्ने मुख्य दायित्व वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको हो । तर विभाग नेतृत्वविहीन छ । यसअघि विभागका महानिर्देशक प्रकाश पौडेल थिए । दसैंअघि पौडेल राजस्व अनुसन्धान विभागमा सरुवा भएपछि विभागमा महानिर्देशक छैनन् ।
आपूर्ति व्यवस्था चुस्त बनाउने दायित्व बोकेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पनि मन्त्रीविहीन छ । यी विविध कारणले गर्दा बजार अनुगमन र नियमन चुस्त छैन । वाणिज्यसँगै संविधानले बजार अनुगमन र मूल्य नियन्त्रणको अधिकार प्रदेश र स्थानीय तहलाई पनि दिएको छ । तर ती तहबाट अनुगमन भएको छैन । उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार वाणिज्यले महानगरपालिकाहरूमा निरीक्षण अधिकृत पनि तोकेको छ । तर महानगरपालिकाबाट पनि अनुगमन हुँदैन । केही नगरपालिकाले देखावटी रूपमा अनुगमन गरे पनि प्रभावकारिता छैन । पछिल्लो समय काठमाडौं महानगरपालिकाले अनुगमन गरेको जनाएको छ । तर अनुगमन मिठाई पसलमा मात्रै केन्द्रित छ । अनुगमन स्वार्थमा प्रेरित भएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनको आरोप छ ।
वाणिज्य विभागका प्रवक्ता शिवराज सेढाईं भने बजार अनुगमन नियमित भइरहेको दाबी गर्छन् । चाडबाडमा मूल्यसँगै खाद्यवस्तुको गुणस्तरमा पनि खेलबाड गरिन्छ । खाद्यान्नको गुणस्तर परीक्षण गर्ने दायित्व खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको हो । विभागले अनुगमनमा सक्रियता नदेखाउँदा उपभोक्ता गुणस्तरमा ठगिएका हुन् । डिभिजन कार्यालय र केन्द्रबाट नियमित अनुगमन गरिरहेको खाद्यका प्रवक्ता मोहनकृष्ण महर्जनले बताए ।
ड्राई फुडको मूल्य कति ?
(प्रतिकिलो)

काजु १५०० रुपैयाँ
छोकडा १७५ रुपैयाँ
सुकमेल २९०० रुपैयाँ
किसमिस ४२५ रुपैयाँ
ल्वाङ १२८० रुपैयाँ
पेस्ता १६६० रुपैयाँ
बदाम १०७५ रुपैयाँ
ओखर ५२५ रुपैयाँ
(स्रोत : नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here