सुन्दर कुरि गाउँ, साँस्कृतिक, एतिहासिक तथा पर्यटकीय महत्वले भरिपुर्ण ; खनियाबास-३ धादिङ

गौरी तामाङ – शिरमा गणेश हिमाल, आखामा लङ्लउ पोचो, छातिमा ल्याक्चे ग्युङ को साथमा ल्याक्चे पोखरी, आगनैमा बिजुलुङ ढुङ्गाको मनमोहक दृश्य हरियाली बन कुन्जको लबेताले सुसज्जित पहाडको पाखामा रहेको एक ऐतिहासिक महत्व बोकेको सास्कृतिक तथा प्राकृतिक सम्पदाले सु-सम्पन्न धादिङ जिल्लाको उत्तरी भेग खनियावासमा अवस्थित कुरी गाउँ, उहिले सन्या दुनियाँको समयमा पृथ्वीको उत्पतीको बेला ङेमा कु, दवा कु रहेको बखत लापा गिलीले, तिप्लिङ् खोर्पाले, बरङ् लोर्चेले, जर्नङ नवरीले, किम्ताङ टुन्टेले संगम छेवङले मानव बस्ती बसाउने शिलशिलामा गिलिङ् चो बाट दक्षिण पट्टि पाँचौ बराजुले थालनी गरेको सुनको चौरको नामले कुरी रहेको भनाइ छ ।

सास्कृतिक तथा प्राकृतिक सम्पदाले सम्पन्न कुरी गाउँमा लगभग दुई सय पचास घर धुरी रहेका छन भने झन्डै पन्ध्रसय हाराहारी जनसंख्या रहेका छन् । सदियौ शताब्दी देखि एकल जातिको बसोबास रहदै आएको तामाङ समुदाय बौद्ध तथा बोनलाई मुख्य धर्मको रुपमा मान्छन भने केही मात्रामा इसाई धर्मप्रती पनि आस्था रहेको पाइन्छ । मुख्यतय, यहाँ तामाङ जातियको एकल उपस्थिति रहेकै कारन तामाङ नै यहाँको मुख्य भाषाको रुपमा रहेको छ । यहाँको मुख्य पेसा कृषि हो । यहाँ विभिन्न किसिमका नगदे बाली, अन्न तथा तरकारीहरु उत्पादन हुन्छन । अधिकांश मानिसहरू कृषि पेसामा निर्भर भएता पनि पछिल्लो समयमा नव युवा पिढिहरुले केही नयाँ आयामका व्यापार तथा ब्यबसाय थालनी गरेका छन्, जस्तोकि कुखुरा पालन, सुङ्गुर पालन, बाख्रा पालन, साना तिना खाजा घर र मिल आदि रहेका छन् जसले गर्दा यहाँको बासिन्दाहरुको जीवन शैलीमा सुधार आएको देखिन्छ । यहाँको हावा पानी चिसो रहेको छ ।
कुरी गाउँको आफ्नै मुल्य मान्यता, संस्कार, सस्कृती, रहन, सहन, चालचलन रहेको छ । ल्होछार यहाँको मुख्य चाड हो । यहाँका मानिसहरु ल्होछार भब्य रुपमा मनाउंछन भने इसाइ धर्ममा आस्था राख्ने क्रिस्चियन धर्मावलम्बीहरुले भने क्रीस्मसलाई विशेष चाडको रुपमा मनाउने गर्दछ्न । ल्होसार, माघे सक्रान्ती, बुद्द जयन्ती, बैशाख पुर्णिामा, साउने सक्रान्ती, कृस्मस, दशै, तिहार र एकादशी यहाँको मुख्य चाडहरु हुन् ।
यहाँ एउटा आधारभुत विधालय र एउटा स्वस्थ चौकी पनि रहेको छ । जबजोङ गुम्बा, म्हन्दङ शिला लेख, कोमो स्योङ, ल्हयिथान र कुरी मन्डली यहाँका धार्मिक तथा सास्कृतिक सम्पदाहरु हुन् भने ल्याक्चे ग्युङ, ल्याक्चे कुण्ड पोखरी, बिजुलुङ ढुङ्गा, लङ्लऊ पोचो, ङिचो पोचो, जिहाङ न्यान, तर्जी पङ्कर र कलङ्कु बन यहाँका अत्यन्तै मनमोहक, रोचक अनि सुन्दर ठाउंहरु हुन् । यस कुरी गाउँ बाट गणेश हिमालको मनोरक दृश्यलाई छर्लङ्गै अवलोकन गर्न सकिन्छ । केहि मुख्य सास्कृतिक तथा प्राकृतिक सम्पदाहरुलाई निम्नानुसार चर्चा गर्न सकिन्छ

१. बिजुलुङ ढुङ्गा (याब्रा युङ्बा)
गाउँ भन्दा केही पर खेतको माझमा एउटा ठुलो ढुङ्गा ठिङ्ग उभिएरको नमस्ते आकारको दृश्य रहेको छ जसलाई स्थानियहरु बिजुलुङ युङ्बा अथवा याब्रा युङ्बा भनेर चिन्ने गर्दछन । यस ढुङ्गाको चौडाई तिरहत्तर(७३) मिटर रहेको छ भने लम्बाई (२००) मिटर रहेको छ । नमस्ते आकारको यो ढुङ्गाको टुप्पो उता सिङ्ला माने तिर फर्केको छ । धेरै वर्ष पहिला एउटा बिजुली नाम गरेको चराले उक्त ढुङ्गालाई सिङ्ला लगिदै गर्दा उक्त स्थानमा एउटा रुखको हागोमा नाम्लो अड्किएर सोही स्थानमा छोडेको हुनाले त्यस ढुङ्गाको नाम बिजुलुङ युङ्बा रहेको किम्बदन्ती पाइन्छ । तसर्थ, यो एउटा छुट्टै इतिहास बोकेको अनौठो ढुङ्गालाई संरक्षण तथा सम्बर्द्धन गरि विश्व सामु चिनाउन सकेमा यो एउटा कुरीबासीको लागि मात्रै नभै सिङ्गो नेपालकै एक पर्यटन गन्तव्य हुनेछ र जसबाट हामीले पुर्णरुपमा प्रत्यक्ष तथा अप्रत्यक्ष लाभ लिन सक्नेछ भन्नेमा आशावादी छु ।

२. म्हन्दङ
कुरी विविध सास्कृतिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपुर्ण मध्ये म्हन्दङ पनि एक हो । म्हन्दङको शाब्दिक अर्थ मन्दङ् भनेको भुत् र दङ् भनेको लखेट्नु सङ्ग सम्बन्धित छ । भुत प्रेतलाई पवित्र मन्त्रहरु कुदिएर लेखिएको शिलाहरुले घेरिएको भन्ने भनाइ छ । म्हन्दङ मानव सभ्यताको क्रम सङ्गै अखे ङ(पाँच वटा बराजु)ले कुरी म्हन्दङ स्थापना गरेको पाइन्छ । यहाँका स्थानीयहरु म्हन्दङलाई लोप्चनहरुको माने भनेर भन्दछन तथापि यहाँ ग्रेम्बा तथा फ्युबा थरीका तामाङहरु पनि स्वस्थमा कुनै दीर्घकालीन रोग देखापरेमा कुनै लामा गुरु मार्फत म्हन्दङ मानेमा पुजा आराधना गरेको पाइन्छ । यो विशेष गरि म्हन्दङ बोन तथा बौद्ध मार्गीहरुको तीर्थस्थलको रुपमा विकास भएको पाइन्छ । यस म्हन्दङका शिलालेखहरुमा उद्देन, उमेद र सम्भोटा लिपि पनि प्रयोग भएको पाइन्छ । भुकम्प पछि भग्नावषेश अवस्थामा रहेको म्हन्दङलाई कुरीकै सक्रिय सामाजिक अभियान्ताहरुको सहयोगमा यसको पुन निर्माण भई सकेको छ । तसर्थ, यस ऐतिहासिक स्थल म्हन्दङलाई स्थानीय जनताले स्थानीय सरकारको पहलमा यसलाई संरक्षण तथा सम्बर्द्धन गरि विश्व सामु पुर्याउन सकेमा यहाँका स्थानीयबासीले पुर्ण रुपमा लाभ लिन सकिनेछ भन्नेमा पुर्न विस्वस्त छ ।

३.ल्याक्चे कुण्ड

पोखरी कुरीका केही प्रचलित ऐतिहासिकता बोकेका प्राकृतिक तथा सास्कृतिक सम्पदाहरु मध्ये ल्याक्चे कुण्ड पोखरी पनि एक हो । ल्याक्चे ग्युङ खोला भन्दा केही तल समतल भु-भागमा पानी जमेर बनेको ठाउलाई ल्याक्चे पोखरी भन्ने गरिन्छ । यहाँ एकादशी तथा माघे सक्रान्तीमा विशेष मेला लाग्ने गर्दछ । एकादशी र माघेसक्रान्तीको अघिल्लो दिन नै बोम्बोहरु आफ्नो जिन्ता सहित राती बासबस्ने हिसाबले गइन्छन । बोम्बोहरु रात भरी मन्त्र जपेर ड्याङ्रो ठडाएर नाचिन्छन भने जिन्ताहरुले बोम्बोको लागि केही दक्षिणा तथा फलफुल चडाउने गरिन्छ । मेला सकेर त्यही दिन दिउँसो फर्कने गर्दछन दिउँसो फर्कने बेला हरेकका घर घरमा गएर केहि समय झाक्री नाचिन्छ र गाउँका मानिसहरुले झाक्रीलाई नाचे बापत नाङ्लोमा चामल, सगुन, अनि दक्षिणा राख्ने गरिन्छ ।
यस ऐतिहासिक पोखरी ल्याक्चे कुण्ड संसारको सृष्टि भए देखि नै अवस्थित भएको अनुमन गर्न सकिन्छ । धेरै वर्ष पहिला उक्त पोखरी निकै गहिरो रहेको र एक्कासि पोखरी भन्दा माथीबाट पहिरो आइ उक्त पहिकोले यस पोखरी लाई पुरिएको भन्ने किम्वदनी रहेको छ । यहाँ विभिन्न किसिमका चराचुरुङ्गीहरु पनि आउने गरेको बुढापाखाहरुको भनाइ छ । यहाँ स्थानीय युवायुवतीहरु पौडी खेल्न तथा नुहाई धुवाई गर्न जान्छन् । बर्खाको समयमा पोखरी पानीले भरी भराउ भएता पनि हिउदे याममा भने पानी क्रमस घटेको पाइन्छ । पोखरीलाई संरक्षण र सम्वर्दन गर्नु पर्छ भन्ने मनोसायले यहाँकै स्थानीय कुतिङ तामाङले आफ्नै व्यक्तिगत लगानीमा लाखौं खर्च गरेको उल्लेखनीय उदाहरण पनि छ । हाल पोखरी हेर्न जान सहज हुने हेतुले विभिन्न

सहयोग मार्फत सरल सिढिको बाटो निर्माण भएको छ । गत साल देखि यस ल्याक्चे संरक्षक समाजद्वारा हरेक वर्ष महिला तथा पुरुषहरुलाई पौडी प्रतिस्पर्धा गर्दै आइरहेको छ । तसर्थ, सुन्दर कुरी गाउँलाई अझ थप सुन्दरता बनाइदिने ऐतिहासिक पोखरीलाई स्थानीय सरकारको नयनले समेटेर संरक्षन तथा सम्वर्दन गर्न सकेमा निकट भविस्यमा यहाँका स्थानीय तथा खनियावास गाउँ पालिकालाई नै टेवा पुर्याउने छ भन्नेमा मलाई पुर्ण विस्वस्त छ ।

४. कलङ्गु वन

कुरी गाउँ तथा बस्ती माथी स्थानीयहरुले संरक्षण गरेर राखेको एउटा बन छ जसको नाम कलङ्कु वन रहेको छ । त्यहाँ विभिन्न किसिमका पशुपन्छी तथा जीवजन्तुहरु पाइन्छन् । जथाभावी जङ्गल फडानी गर्दा निकट भविस्य मा बस्ती तथा व्यक्तिगत जनजिवन माथी पार्न सक्ने प्रतिकुल प्रभावलाई मध्य नजर गर्दै उक्त वनमा भने गाउँमा गाँस,पात,दाउरा टिप्न भने मनाही छ तथापि बेला बखत उक्त वनको अध्यक्षको अनुमतिमा वन खुल्ला गरिन्छ । सो दिन गाउँका सबै गाउँलेहरु उर्लेर आई वन बाट भरपुर लाभ प्राप्त गर्दै आइरहेको पाइन्छ । चैत्र र बैशाखमा यहाँ काफल, ऐसेलु फल्दछ भने लाली गुराँसको ढकमक दृश्यले वनै रङ्गिन भइन्छ त्यसैले कुरीका धेरै महत्वपूर्ण सम्पदाहरु मध्ये कलङ्गु वन पनि एक हो ।

५. लङ्लऊ ढुङ्गा(पोचो)
लङ्लऊ पोचो कुरी गाउँको बस्ती माथि कलङु वनको माझमा रहेको छ । जहाँ बाट कुरी गाउँको हरेक दृश्यलाई छर्लङ्गै अवलोकन गर्न सकिन्छ । त्यसैले यसलाई प्राकृतिक भिउ टावर उपनाम दिदा पनि कुनै फरक पर्दैन ।

६. ङिचो पङ्गर(पोचो)

ङिचो प्राङ्गन(पोचो) कुरी बस्ती तथा गाउँको ठिक माझमा एउटा झन्डै बर्गाकार आकारको एउटा प्राङ्गण छ प्राङगनो टुप्पोमा पोचो यानिकी ढुङ्गा छ त्यही ढुङ्गा रहेकै कारन यस प्राङ्गनलाई ङिचो पोचो पनि भन्ने गरिन्छ । प्राङ्गनको टुप्पो अलि फुकेको र फेद थोरै दबिएको छ जसले गर्दा त्यहाँ गाउँ सभा तथा गाउँका कुनै सामन्य समारोह हुँदा टुप्पोमा गाउँका गन्यमान अगुवाइहरु बसि गाउँमा भए गरेका सामान्य झडप तथा वार्तालाई छिनोफानो तथा मिलोमति गर्ने गरिन्छ । यस ङिचो पोचो गाउँको माझमा रहेको हुनाले गाउँका दृश्य देखि क्रियाकलाप समेत अवलोकन गर्न पाइन्छ त्यसैले गर्दा नै उक्त रोचक पङ्गरमा हरेक समय युवाहरुको भीड भइरहन्छ । केही बर्ष पहिला गाउँमा केही विशेष सुचना त्यही ङिचो पोचो मार्फत ठुलो स्वरमा चिच्याएर दिइदै आएको इतिहास स्वयम् आफैले प्रत्यक्ष देखेको अनुभव पनि छ । त्यसैले एउटा रमाइलो कहानी बोलेको ङिचो प्राङ्गन (पोचो) कुरी बासीको लागि एक विशेष पाटाे हो भन्नेमा कुनै दुई मत छैन । यसलाई जोगाइ राख्नु हामी सम्पुर्ण कुरी बासीको जिम्मेवारी हो । #समग्रमा यस सास्कृतिक तथा प्राकृतिक हिसाबले सु-सम्पन्न मेरो गाउँलाई स्थानीय सरकार तथा प्रदेश सरकारको उचित ध्यानाकर्षण भइ गाउँमा पर्यटक पुर्याउन सकेमा यसले कुरीबासीलाई मात्रै नभइ सिङ्गो नेपालकै पर्यटन क्षेत्रको एक उत्कृष्ट गन्तव्य हुनेछ भन्नेमा आशावादी छु ।

( गौरी तामाङ, खनियाबास-३, कुरि )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here