काठमाडौ । वनजंगलमा डढेलो लाग्न थालेसँगै देशभर प्रदूषण बढेको छ । वायुमण्डलीय सतहमा प्रदूषण तैरिएर बस्दा काठमाडौं उपत्यकालाई तुवाँलोले ढाक्न थालेको छ । काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरको हावा सोमबार अस्वस्थकर बन्न पुगेको छ ।
सोमबार बिहान काठमाडौंमा प्रदूषण प्रतिघन्टा पिएम–२.५ को मात्रा १९८ माइक्रोग्राम प्रतिघनमिटर पुगेकामा साँझ केही घटेर १६७ कायम रह्यो । यो अवस्थामा वायुमण्डलमा रहेको हावा अस्वस्थकर मानिन्छ । साँझ सबैभन्दा बढी प्रदूषण पोखरामा रेकर्ड भएको छ । पोखरामा यो मात्रा २१७ पुगेको छ । त्यस्तै, सिमरामा १७८, नेपालगन्जमा १६७, भरतपुरमा १६३, धनकुटामा १५६ र काठमाडौंकै कीर्तिपुरमा १५३ सम्म पुगेको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईका अनुसार तत्काल वर्षा गराउन प्रणाली सक्रिय छैन । पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहे पनि वर्षा हुन सकेको छैन । ‘वायुमण्डलको सतहमा प्रदूषण छ, माथि बादल छ । बादलका कारण प्रदूषण माथि जान पाएको छैन,’ भट्टराईले भने, ‘वर्षा हुन नसक्दा उपत्यकामा तुवाँलो लागेको हो । हावा पनि चल्न सकेको छैन ।’
गत वर्ष चैतमा पनि काठमाडौं प्रदूषणले प्रताडित थियो
गत वर्ष १३ चैतदेखि मसान्तसम्म काठमाडौं प्रदूषणले प्रताडित रहेको थियो । यो वर्ष गर्मीयाममा आइतबारबाट फेरि प्रदूषण बढ्न थालेको हो । वातावरण विभागको वेबसाइट ‘पोलुसन जिओभी डटएइनपीमा’ रत्नपार्क, पुल्चोक, शंखपार्क, भक्तपुर, भैँसेपाटी, लुम्बिनी, दाङ, धनगढीलगायत क्षेत्रको विवरण अपडेट छैन । नेपालमा १७ फागुनदेखि १७ जेठसम्म यो अवस्था रहन्छ । सुक्खायाममा पर्याप्त पानी नपर्ने, तापक्रम बढ्ने र आगलागीसँगै डढेलोका घटना बढ्ने भएकाले पनि प्रदूषण उकालो लाग्ने गरेको पाइन्छ ।
वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले डढेलोका कारण बिहान र साँझ प्रदूषण बढेको बताए । ‘डढेलोका कारण दक्षिण एसियामै प्रदूषण बढेको छ । हाम्रोमा (नेपाल)मा पनि बिहान र साँझ प्रदूषण धेरै पाइएको छ । यस्तोवेला मर्निङवाकमा नजान अनुरोध छ ।’ डढेलाको धुवाँ पनि वायुमण्डलमा मिसिँदा प्रदूषण बढ्नुका साथै तुवाँलो पनि देखिएको उनी बताउँछन् ।
पछिल्लो २४ घन्टा (सोमबार बिहान ८:४५सम्म) मुलुकभर वर्षा रेकर्ड भएको छैन । बरू आइतबार साँझ एकैपटक ८४ ठाउँमा डढेलो लागेको थियो । सोमबार भने डढेलो घटेर १६ ठाउँमा झरेको वन विभागको भौगोलिक सूचना प्रणाली तथा नक्सांकन शाखाले जनाएको छ । शाखाले हरेक दिन बिहान ११ बजे र ३ बजे वन डढेलोको तथ्यांक लिने गर्छ ।
वन डढेलोका विज्ञ रहेका विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुन्दर शर्मा कम्तीमा एक सय स्थानमा डढेलो लागेको हुन सक्ने बताउँछन् । ‘मोडिस प्रणालीमा आधारित स्याटेलाइटबाट तथ्यांक लिएर डढेलोका घटना पहिचान हुन गरेका छन्, यसमा तीन सय मिटरभन्दा सानो आगो देखिँदैन । केही घन्टा लागेको डढेलो पनि तथ्यांकमा नदेखिन सक्छ,’ उनले भने, ‘कम्तीमा एक सय स्थानमा डढेलो लागेको हुनुपर्छ ।’
गत वर्ष चैतमा एकैदिन ३९७ स्थानमा डढेलो लागेको थियो । एक वर्षमा ६ हजार ७ सय ९९ स्थानमा डढेलो रेकर्ड भएको छ । नेपालमा मंसिरदेखि नै डढेलो लाग्न सुरु हुन्छ । ‘चैत–वैशाख डढेलोको पिक समय हो, त्यसमा पनि सबैभन्दा बढी डढेलो वैशाखको दोस्रो साता लाग्ने गरेको छ,’ शर्माले भने ।