काठमाडौँ । नेकपा एमालेले फेरि एकपटक ‘स्वयंसेवी बल’ शैलीको संरचना गठन गरेको छ। पछिल्ला राजनीतिक तनाव, जेन–जी आन्दोलनले सिर्जना गरेको दबाब र आसन्न महाधिवेशनलाई ध्यानमा राख्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘नेसनल भोलिन्टियर फोर्स’ नामक संरचनाको केन्द्रीय कमान्ड सार्वजनिक गरेका हुन्।
एमालेले आफूलाई शान्तिपूर्ण र संसदीय राजनीति अभ्यास गर्ने दल भएको दाबी गर्दै आए पनि, प्रतिस्पर्धी शक्ति तथा आन्दोलनकारी समूहसँग प्रतिरोध गर्न यसअघि पनि विभिन्न युवा संरचना सक्रिय बनाउँदै आएको इतिहास छ। २०६५ सालतिर महेश बस्नेतको नेतृत्वमा बनेको ‘युथ फोर्स’ यस्तै संरचनाको उदाहरण मानिन्छ।
अन्तरद्वन्द्व र बाह्य दबाबबीच नयाँ दस्ता
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महाधिवेशनमा अध्यक्ष ओलीलाई चुनौती दिने घोषणा गरिरहँदा, अर्को पक्षमा जेन–जी आन्दोलनले एमाले नेतृत्वलाई कठोर परिस्थिति बनाइरहेको छ। केही नेताहरूले यस्तो दस्ता गठनलाई विवादास्पद भनेका भए पनि, नेतृत्व तहले जोडबलपूर्वक फोर्सलाई अघि बढाएको हो।
यो फोर्सको समन्वयकर्ता पुष्पराज श्रेष्ठलाई बनाइएको छ, जो विगतमा युथ फोर्सकै नेतृत्वमा देखिएका थिए।
उनीमाथि विभिन्न मुद्दा लगाइएका कारण आलोचना भए पनि पार्टीले उनलाई जिम्मेवारी दिएको छ।
सुरक्षाको नाममा सक्रियता
जेन–जी आन्दोलनका क्रममा बालकोटस्थित निवासमा आगजनी भएपछि ओली हाल भक्तपुरमा बसिरहेका छन्। त्यसयतादेखि भोलिन्टियर फोर्सका सदस्यहरूले नै उनको सुरक्षामा सहयोग गरिरहेको एमाले स्रोत बताउँछ।
ओलीका अनुसार, राज्य संयन्त्र कमजोर भएको अवस्थामा नागरिक सुरक्षामा सहयोग पुर्याउने उद्देश्यले फोर्स बनाइएको हो।
सम्भावित मुठभेडको चिन्ता
सुरक्षा निकायका स्रोतहरू भने चुनाव नजिकिँदै गर्दा यस्तो संगठित समूह सक्रिय हुनु तनाव बढाउने कारक हुनसक्ने बताउँछन्। समन्वयकर्ता श्रेष्ठले सार्वजनिक कार्यक्रममा ‘अवरोध गर्नेहरूको लोकेसन हेरेका छौँ’ भन्ने टिप्पणी गर्दा सुरक्षा निकाय झन् सावधान बनेका छन्।
महाधिवेशन र चुनावबीचको संतुलन
एमाले आगामी मंसिर २७–२९ गते महाधिवेशन गर्दैछ। त्यहीबीच संघीय चुनावको तयारी पनि भइरहेकाले शीर्ष नेताहरूको देशव्यापी भ्रमण सहज छैन।
युवा संघको बारामा भएको कार्यक्रममा महासचिव शंकर पोखरेल जेन–जी प्रदर्शनका कारण सहभागी हुन नसक्नु यसको एक उदाहरण मानिन्छ।
यस्ता परिस्थितिमा एमालेले भोलिन्टियर फोर्सलाई ‘अराजकता’, ‘विकृति’ र ‘भीडतन्त्र’ विरुद्ध प्रयोग गर्ने बताइरहे पनि आलोचकहरू यसलाई राजनीतिक बल प्रदर्शनको माध्यमको रूपमा हेर्दै छन्।




























