धादिङ । धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकामा अवस्थित त्रिपुरा सुन्दरी मेला यस वर्ष यही मंसिर १८ र १९ गते हुने भएको छ।
धार्मिक सांस्कृतिक र पर्यटकीय महत्त्वले अत्यन्तै महत्त्वपूर्ण मानेको यो मेला हरेक वर्ष मङ्सिर महिनामा लाग्ने गर्दछ। यो मेलाको लागि दशैंको टीकाको दिनदेखि हेर्ने र तिहारको टिकाको दिनमा विशेष पण्डितहरूद्वारा सार्वजनिक गर्ने प्रचलन छ । विशेष गरेर मङ्सिर महिनामा यो मेला लाग्ने गरिन्छ यो मेलालाई स्थानीयहरुले न्वागी जात्रा पनि भन्ने गर्दछन् ।
त्रिपुरा सुन्दरी देवीको नाउँमा रहेको गुठीको जग्गामा रहेकाहरूले प्राय गरेर त्यस दिनमा त्यो वर्ष भित्र्याएको धानको न्वागी खाने चलन रहेकोले त्यसैलाई न्वागी जात्रा पनि भन्ने गरिएको हो।
धादिङको त्रिपुरा सुन्दरी माईको विषयमा विभिन्न खालका किम्वदन्तीहरू भेटिन्छ । श्रीस्वस्थानीमा उल्लेख भए अनुसार यज्ञकुण्डमा हामफालेकी सतिदेवीको मृत शरीर बोकेर भगवान शिवले पृथ्वीलोक भ्रमण गर्दा शतीदेवीको कण्ड्यौलो पतन भएको उल्लेख छ । नुवाकोट आक्रमणमा निस्केका राष्ट्र निर्माता पृथ्वीनारयाण शाहको नुवाकोट आक्रममा जाने क्रममा गोर्खाबाट आउँदा यही स्थानमा बास परेको र सपनामा एउटी बालिकाले हातमा खड्गसहित विजयी हुने बरदान दिएको कुरा पृथ्वीनारायण शाहको दिव्योपदेशमा उल्लेख छ ।
सदरमुकाम धादिङबेंसीबाट ४० किमी उत्तरतर्फ पर्ने सल्यानकोटको हटीयाको मन्दिरबाटबाट आगिन्चोकको हाँसेमा भएको मन्दिरमा ल्याई देवि भित्र्याउने चलन रहि आएको छ । प्राचीनकालदेखि शाहवंशीय राजाले विशेष महत्वका साथ सो स्थानमा पूजापाठ गर्ने गरेको तथ्य भेटिन्छ । साविकको सल्यानकोट गाविस– वडा नं ५ हाल त्रिपुरासुन्दरी गाउपालिकाको वडा नं ४ मा रहेको २ वटा मन्दिरमध्ये घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म भगवतीलाई पूर्वपट्टिको मन्दिरमा राखेर पुजाआजा गरिन्छ, जुन मामाघरको रूपमा प्रसिद्ध र आगिन्चोक स्थित सल्यानबेंसीमा गरेर तीन मन्दिर छन् ।
त्रिपुरा सुन्दरी भगवतीको मूर्ति रहेको विश्वास गरिने बाकसलाई पुजारीहरूले पिठिउमा बोकी सल्यान कोट हटियाबाट आगिनचोकको हाँसेपसल नजिकै रहेको त्रिपुरा सुन्दरीको मन्दिरमा भित्र्याउने प्रचलन छ यो प्रचलन नेपाल मै नौलो प्रचलन रहेको र यसरी पिठिउमा बोकी मन्दिर परिक्रमा गराई भगवती देवीलाई भित्र्याउने प्रचलन नेपालमै पहिलो रहेको हो ।
त्रिपुरा सुन्दरी भगवतीको मूर्ति कस्तो स्वरूपको छ भनेर कसैले हेर्न र छुन नमिल्ने परम्परा छ। यहाँका राना मगर सापकोटा र तिमल्सिनाहरू जो त्रिपुरा सुन्दरी भगवतीको पूजारी हुन् उनीहरु बाहेक अरु कसैले यो मूर्तिलाई छुन र हेर्न मिल्दैन। त्रिपुरा सुन्दरी भगवतीको मेला लाग्नु पहिले नै यी राना मगर सापकोटा र तिमल्सिना थर भएका पुजारीहरूलाई कसैलाई यो मूर्ति यस्तो छ भनेर भन्दिन भनी कसम खुवाउने गरिन्छ ।
एक वर्षभरिमा तीनवटा मन्दिर प्रवेश गरी पूजा अर्चना गर्ने अनौठो परम्परा रहेको त्रिपुरा सुन्दरी भगवती माईको तीनवटा मन्दिरहरू पाउन सकिन्छ। फरक फरक समयमा फरक फरक मन्दिरमा रही वर्षभरि नै त्रिपुरा सुन्दरी भगवतीको पूजा अर्चना हुने त्रिपुरा सुन्दरी भगवती मन्दिरका पुजारी गोपाल राना मगरले बताउनुभयो ।