देश भर भयावह बन्दै लम्पी स्किन

काठमाडौ । लम्पी स्किन रोगका कारण मधेश प्रदेशमा हालसम्म २ हजारभन्दा बढी पशु चौपाया मरेको तथ्याङ्कले देखाएको छ । खडेरीको चपेटामा परेको मधेशका आठै जिल्लामा यो रोगका कारण गाईवस्तुको धेरै क्षति भएपछि किसान मर्कामा परेका हुन् ।

प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले उपलब्ध गराएको जानकारीअनुसार सिरहामा सबैभन्दा बढी १ हजार ११८ गाई, भैँसीलगायत पशु मरेका छन् । त्यस्तै पर्सामा सबैभन्दा कम २ पशु मरेका छन् । मधेश प्रदेशमा हालसम्म यो रोगबाट २ हजार २५ पशु चौपाया मरेका छन् ।

मधेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका पशु अधिकृत डा. रञ्जितकुमार अधिकारीले प्रदेशका आठवटै जिल्लाहरूमा हालसम्म ४५ हजार ८२५ पशु चौपायालाई लम्पी स्किनविरुद्धको खोप लगाइसकेको जानकारी दिए । ‘धेरै हदसम्म पशुहरू निको पनि भएका छन् । ६७ हजारमा २ हजार जति पशुको मृत्यु भएको छ । बाँकी निको हुने क्रममा छ,’ उनले भने ।

अधिकारीका अनुसार यो रोग निको हुन २० देखि २५ दिनको समय लाग्ने भएकाले पनि समस्या भएको छ । रोग लागेका पशुहरूको दूध उत्पादनमा ह्रास आएको उनले बताए । यो रोगविरुद्ध संघ, प्रदेश र स्थानीय सरकारले समन्वयात्मक रूपले काम गर्नुपर्ने उनले बताए ।

‘रोग लागेका पशुमा दूध उत्पादनमा ह्रास आएको छ । पशुहरूमा बाँझोपनको पनि समस्या आउँछ । पशुहरू कमजोर हुँदै जान्छन्,’ अधिकारीले भने, ‘मधेश सरकारले ६४ हजार मात्रा खोप खरिद गरेको छ । स्थानीय तहले खोपको कार्यक्रमलाई अगाडि बढाएका छन् । ४५ हजार मात्रा खोप लगाइसकिएको छ ।’

सोमबार लम्पी स्किन रोगविरुद्वको खोप अभियानको जनकपुरधामस्थित सीताराम गाई गौशालाबाट उद्घाटन गर्दै मधेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेले मधेश सरकारले आठवटै जिल्लामा आठ/आठ हजारको दरले कुल ६४ हजार खोप पठाएको बताए । मन्त्री न्यौपानेले यो समस्या पहिलादेखि नै भए पनि अहिले भयावह भएको बताउँदै यस्ता समस्याहरू दीर्घकालीन रूपमा समाधान गर्न सरकारले पहल गर्ने बताए ।

‘हामीले खोप खरिद गरेका छौँ । प्रत्येक जिल्लामा खोप पठाइसकेका छौँ । खोप अभियान सुरु भइसकेको छ । तर, ६४ हजार डोज धेरै न्यून हुनेछ । त्यसको लागि स्थानीय सरकारलाई पनि हामीले आग्रह गरेका छौँ । उहाँहरूसँग भ्याक्सिनको बजेट छ । जस्तो सर्लाहीका स्थानीय निकायले केही राम्रो गर्नुभएको छ । संघको कृषिमन्त्रीले पनि केही डोज भ्याक्सिन पठाउँछु भनेर आश्वासन दिनुभएको छ,’ न्यौपानेले भने ।

लम्पी स्किनका कारण सबैभन्दा बढी गाई/गोरु मरेका छन् । मधेशमा यो रोगका कारण मरेका २ हजार २५ पशुचौपायामध्ये २ हजार १९ वटा गाई/गोरु छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here