धादिङमा महिला तथा युवाका लागि नेतृत्व विकास तथा उद्यमशीलता तालिम सुरु

धादिङ । धादिङ जिल्लाका महिला तथा युवाहरूको नेतृत्व क्षमता अभिवृद्धि, संवैधानिक अधिकारसम्बन्धी सचेतना विस्तार तथा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले धादिङवेशीमा नेतृत्व विकास तथा उद्यमशीलता सम्बन्धी बहुआयामिक तालिम कार्यक्रम सुरु गरिएको छ।

“परिवर्तनका लागि महिला मञ्च, धादिङ”की अध्यक्ष सरला धमलाको नेतृत्वमा सञ्चालन भइरहेको उक्त कार्यक्रम बागमती प्रदेश सरकार सामाजिक विकास एकाई कार्यालय, गजुरीको सहयोग तथा निलकण्ठ नगरपालिकाको सहकार्यमा एक औपचारिक समारोहबीच उद्घाटन गरिएको हो। कार्यक्रम अन्तर्गत “संवैधानिक अधिकारमा महिलाको पहुँच र समाज रूपान्तरणमा सकारात्मक सोच” विषयक कार्यशाला तथा महिला उद्यमशीलताका लागि सीप विकास तालिम सञ्चालन गरिने आयोजकले जनाएको छ।

२०७६ सालमा विधिवत् दर्ता भई महिलाको संवैधानिक अधिकारसम्बन्धी बहस, पैरवी तथा सचेतनामूलक अभियान सञ्चालन गर्दै आएको संस्थाले महिला सशक्तीकरणलाई केन्द्रमा राखेर निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष सरला धमलाले बताउनुभयो। उहाँका अनुसार महिलालाई अधिकार, ज्ञान र सीपसँग जोड्न नसक्दा समाजमा असमानता र हिंसाका जोखिम बढ्ने भएकाले सचेतनामूलक तथा क्षमता विकास कार्यक्रम आवश्यक भएको हो।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष धमलाले यस्ता तालिमले महिलालाई आत्मनिर्भर बनाउँदै नेतृत्वदायी भूमिकामा अघि बढ्न प्रेरणा मिल्ने उल्लेख गर्नुभयो। स्थानीय स्तरमै सीप, क्षमता र अवसर सिर्जना गर्न सके मात्रै महिला तथा युवाहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन सम्भव हुने उहाँको भनाइ थियो।

उद्घाटन सत्रमा प्रशिक्षक दीपक कोइराला र टोलीले ‘महिला सशक्तीकरण र व्यक्तित्व विकास’ विषयमा सहजीकरण गरेका थिए। तालिम अन्तर्गत नेतृत्व विकास, महिला हकअधिकारसम्बन्धी कानुनी सचेतना, दम्पती सम्झौता, फौजदारी अपराधसम्बन्धी जानकारी, डिजिटल साक्षरता तथा साइबर अपराधसम्बन्धी प्रशिक्षण समावेश गरिएको छ। संवैधानिक अधिकारसम्बन्धी प्रशिक्षण जिल्ला प्रशासन कार्यालयको सहकार्यमा प्रमुख जिल्ला अधिकारी स्वयं प्रशिक्षकका रूपमा सहभागी हुने तथा डिजिटल साक्षरता र साइबर सुरक्षासम्बन्धी तालिम जिल्ला प्रहरी कार्यालयको सहकार्यमा सञ्चालन गरिने जनाइएको छ।
त्यस्तै महिला उद्यमशीलता प्रवर्द्धनका लागि स्थानीय उत्पादनमा आधारित सीप विकास तालिम पनि सञ्चालन गरिनेछ। तालिममा भोगटे, लप्सी, किवी र अमलाबाट क्यान्डी निर्माण, गुन्द्रुक, अचार, मस्यौरा तथा टिम्बुरजन्य उत्पादनको ब्रान्डिङ र बजारीकरणसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिनेछ। घरमै बसेर काम गर्ने महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्य कार्यक्रमको मुख्य लक्ष्य रहेको अध्यक्ष धमलाले बताउनुभयो।

संस्थाले यसअघि निलकण्ठ नगरपालिका लगायत विभिन्न पालिकासँग सहकार्य गर्दै महिला जनप्रतिनिधिहरूका लागि क्षमता विकास तालिम, सकारात्मक सोच विकास कार्यक्रम, स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर सम्बन्धी परीक्षण तथा सचेतना कार्यक्रम समेत सञ्चालन गरिसकेको छ। गजुरी, बेनीघाट रोराङ, गल्छी तथा सिद्धलेक गाउँपालिकासँगको सहकार्यमा महिला सशक्तीकरणका गतिविधि निरन्तर अघि बढाइएको पनि जानकारी दिइएको छ।

नेतृत्व विकास तालिम चैत ५ गतेसम्म तथा सीपमूलक उद्यमशीलता तालिम चैत १० गतेसम्म सञ्चालन हुने कार्यक्रम रहेको छ। कार्यक्रम सफल बनाउन सहयोग गर्ने निलकण्ठ नगरपालिकाका नगर प्रमुख तथा नगर कार्यपालिकाप्रति अध्यक्ष सरला धमलाले आभार व्यक्त गर्नुभएको छ।

आयोजकका अनुसार महिलालाई अधिकार, सीप र अवसरसँग जोड्दै समाज रूपान्तरणतर्फ अग्रसर गराउने दीर्घकालीन लक्ष्यसहित यस्ता कार्यक्रम आगामी दिनमा समेत निरन्तर सञ्चालन गरिनेछ।i