आइतबार देखि कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप अभियान सुरु

काठमाडौं । पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारद्वारा किशोरी लक्षित एचपिभी (Human Papillomavirus) खोप अभियान आइतबारदेखि देशभर सुरु हुँदैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कक्षा ६ मा अध्ययनरत तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई फागुन १५ गतेसम्म खोप दिइनेछ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत बालस्वास्थ्य तथा खोप शाखाले यस अभियानका लागि सबै तयारी पूरा भइसकेको जनाएको छ। खोप विद्यालयमै र नजिकका स्वास्थ्य संस्थामार्फत लगाइनेछ भने खोप कार्यक्रम सञ्चालन गर्ने स्वास्थ्यकर्मीलाई आवश्यक तालिम पनि दिइसकिएको छ।

गत वर्ष खोप अभियानमा छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा ११ देखि १४ वर्ष उमेर समूहका विद्यालय बाहिरका किशोरीलाई पनि यही अभियानमा समेटिने जनाइएको छ। खोप सम्बन्धित सामग्री जिल्ला तहसम्म पुर्‍याइसकिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

यसपटक करिब तीन लाख ५० हजार किशोरीलाई एचपिभी खोप उपलब्ध गराइने लक्ष्य राखिएको छ। खोप कार्यक्रम ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स (GAVI)’ को सहयोगमा सञ्चालन भइरहेको छ।