धादिङ । प्रेस सेन्टर नेपाल धादिङले धादिङबेसीमा निर्वाचन केन्द्रित मिडिया डेक्स सञ्चालनमा ल्याएको छ। प्रेस सेन्टर नेपाल केन्द्रीय समितिको निर्देशनअनुसार प्रत्येक निर्वाचन क्षेत्रमा मिडिया डेक्स स्थापना गर्ने अभियान अन्तर्गत धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा उक्त मिडिया डेक्स स्थापना गरिएको हो।
‘CPN Media Center’ नाम दिइएको मिडिया डेक्सको आज एक विशेष कार्यक्रमका बीच औपचारिक उद्घाटन गरिएको छ। उद्घाटन समारोहमा धादिङ क्षेत्र नम्बर २ का नेकपा उम्मेदवार रामबहादुर भण्डारी, जिल्ला संयोजक मनराज भण्डारी, समानुपातिक उम्मेदवार इन्दिरा ढुंगाना लगायत पार्टीका नेता तथा प्रेस सेन्टर नेपालका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
मिडिया डेक्समार्फत नेकपाबाट निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका उम्मेदवारहरूको एजेन्डा, गतिविधि र कार्यक्रमलाई प्रभावकारी रूपमा प्रचार–प्रसार गरिने जनाइएको छ। साथै स्थानीय नागरिकका समस्या, गुनासा तथा सुझाव संकलन गरी सम्बन्धित उम्मेदवार र नेतृत्वसम्म पुर्याउने काम पनि मिडिया डेक्समार्फत गरिने प्रेस सेन्टर धादिङले जनाएको छ।
प्रेस सेन्टर धादिङका अनुसार जिल्लाको क्षेत्र न. १ मा पनि छिट्टै डेक्स स्थापना गर्ने र मिडिया डेक्सलाई निर्वाचन अवधिभर सूचना प्रवाह, जनसम्पर्क र जनताको आवाज उजागर गर्ने प्रमुख केन्द्रका रूपमा प्रयोग गरिनेछ।






