धादिङ । रुवी भ्याली गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को १८ औँ हिउँदे गाउँसभा स्थगित गरिएको छ । गाउँ कार्यपालिकाको निर्णयअनुसार मिति २०८२/१०/२१ गते बस्ने गरी आह्वान गरिएको गाउँसभा निर्वाचन आचारसंहिता लागू भएकाले हाललाई स्थगन गरिएको हो ।
गाउँ कार्यपालिकाको कार्यालयका अनुसार बागमती प्रदेश गाउँ, नगर तथा जिल्ला सभा सञ्चालन (कार्यविधि) ऐन, २०७५ बमोजिम आह्वान गरिएको गाउँसभा निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद–३ को दफा ७ अनुसार आचरण पालना गर्नुपर्ने अवस्था आएपछि स्थगन गर्नुपरेको हो ।
गाउँपालिकाका अध्यक्षको निर्देशनअनुसार गाउँसभाका सम्पूर्ण सदस्यलाई सूचना जारी गरी स्थगनबारे जानकारी गराइएको प्रमुख प्रशासकीय अधिकृत छोईसार्ड खूमाङले जानकारी दिनुभयो । गाउँसभा पुनः बस्ने मिति निर्वाचन आचारसंहिता समाप्त भएपछि तय गरिने जनाइएको छ ।






