धादिङ । सामुदायिक रेडियो रेडियो बिहानी ९७.६ मेगाहर्ज सञ्चालन गर्दै आएको श्री सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड नीलकण्ठ–३, धादिङको १७औँ वार्षिक साधारणसभा सोमबार भव्य रूपमा सम्पन्न भएको छ।
सञ्चालक समिति अध्यक्ष मनराज भण्डारीको अध्यक्षता तथा संविधानसभा सदस्य पुष्प विक्रम मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा संस्थापक उत्तमराज कँडेल, नेकपा नेता रामबहादुर भण्डारीसहित विभिन्न सहकारी तथा संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
साधारणसभामा अध्यक्ष, महासचिव र कोषाध्यक्षले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा समितिले आर्थिक अवस्थाबारे प्रतिवेदन पेश गरेको थियो। आगामी आर्थिक वर्षका प्रस्तावित कार्यक्रम, नीति तथा योजनामाथि छलफल गर्दै विभिन्न एजेन्डाहरू सर्वसम्मत रूपमा पारित गरिएको छ।
कार्यक्रममा वक्ताहरूले रेडियो बिहानी गैरनाफामूलक सामुदायिक रेडियो भएकाले स्थानीय तह, संघ–संस्था र सरोकारवाला निकायसँग सहकार्य गर्दै सामुदायिक सञ्चारको भूमिकालाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिए। सूचना, शिक्षा, चेतना र समावेशी विकासमा सामुदायिक रेडियोको योगदान महत्वपूर्ण रहेको उनीहरूको भनाइ थियो।
२०६५ सालमा दर्ता भई २०६६ साल मंसिर १२ गतेदेखि ५०० वाट क्षमतामा नियमित प्रसारण सुरु गरेको रेडियो बिहानीले हाल दैनिक १७ घण्टा सूचना, समाचार, विज्ञापन, मनोरञ्जन तथा विविध रचनात्मक कार्यक्रमहरू प्रसारण गर्दै धादिङसहित आसपासका क्षेत्रका श्रोतालाई सुसूचित गर्दै आएको छ। साधारणसभाकै अवसरमा कार्यक्रम प्रस्तोता सपना कुवँरलाई नगदसहित कदरपत्रद्वारा सम्मान गरिएको थियो।






