काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै नेपाल प्रहरीले ठूलो संख्यामा निर्वाचन प्रहरी भर्ना खुला गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत मानवस्रोत विकास विभागले कुल १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी आवश्यक रहेको जनाएको छ।
इच्छुक नेपाली नागरिकले माघ ५ गतेदेखि ९ गतेसम्म देशभरका जिल्ला प्रहरी कार्यालय तथा काठमाडौं, ललितपुर र भक्तपुरका प्रहरी परिसरमार्फत दरखास्त दिन सक्नेछन्। आवेदन बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म, सार्वजनिक बिदाका दिनसमेत स्वीकार गरिनेछ।
भर्नाका लागि दरखास्त दिने मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको, नेपाली नागरिक, साधारण लेखपढ गर्न सक्ने, शारीरिक तथा मानसिक रूपमा स्वस्थ, फौजदारी अभियोगमा सजाय नपाएको तथा कुनै राजनीतिक दलको सदस्य नभएको हुनुपर्नेछ।
शारीरिक मापदण्डअनुसार पुरुषको न्यूनतम उचाइ ५ फिट ३ इन्च, छाती ३१/३३ इन्च र तौल ५० केजी तोकिएको छ। महिलाको हकमा न्यूनतम उचाइ ४ फिट १० इन्च र तौल ४२ केजी आवश्यक छ भने गर्भवती नभएको हुनुपर्ने व्यवस्था गरिएको छ।
पूर्व नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका अवकाशप्राप्त सुरक्षाकर्मी, पूर्व वन रक्षक, यसअघि म्यादी प्रहरीको रूपमा सन्तोषजनक सेवा दिएका व्यक्ति तथा विदेशी सुरक्षा निकायबाट सेवानिवृत्त नेपाली नागरिकलाई प्राथमिकता दिइनेछ।
सम्पर्क मिति माघ ४ गते तोकिएको छ। छनोट प्रक्रिया माघ ५ देखि ९ गतेसम्म सञ्चालन भई अन्तिम नतिजा माघ १२ गते सार्वजनिक गरिनेछ। चयन भएका निर्वाचन प्रहरीलाई माघ १५ देखि २४ गतेसम्म तालिम प्रदान गरिने जनाइएको छ।
निर्वाचन प्रहरीको कार्यअवधि नियुक्ति मितिदेखि अधिकतम ४० दिन रहनेछ भने निर्वाचनको आवश्यकताअनुसार अवधि हेरफेर हुन सक्ने नेपाल प्रहरीले जनाएको छ।






