कांग्रेस महामन्त्री गगन–विश्वप्रकाशद्वारा विशेष महाधिवेशनको औपचारिक आह्वान

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले पार्टी विधानको प्रावधान उल्लेख गर्दै विशेष महाधिवेशन आह्वान गरेका छन्। उनीहरूले बुधबार संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै पार्टीलाई समयअनुकूल रूपान्तरण गर्न विशेष महाधिवेशन आवश्यक रहेको बताएका हुन्।
महामन्त्रीद्वयका अनुसार विशेष महाधिवेशन आगामी पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने तय भएको छ। उक्त महाधिवेशनमा सहभागी हुन उनीहरूले सबै महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका छन्।
यसअघि कांग्रेसका ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासमक्ष विशेष महाधिवेशनको मागसहित हस्ताक्षर बुझाएका थिए। तर तोकिएको समयभित्र प्रक्रिया अघि नबढेपछि विधानअनुसार आफैंले आह्वान गर्नुपरेको महामन्त्रीहरूको भनाइ छ।
विज्ञप्तिमा कांग्रेस विधानको धारा १७ (२) अनुसार आवश्यक संख्या पुगेपछि तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था बाध्यकारी रहेको उल्लेख गरिएको छ। विधानले यस्तो मागलाई अस्वीकार गर्ने अधिकार कसैलाई नदिएको उनीहरूको तर्क छ।
यता कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने केन्द्रीय समितिबाट निर्णय नभई व्यक्तिले मात्र विशेष महाधिवेशन गर्न नसकिने उल्लेख गर्दै विज्ञप्ति जारी गरेका छन्। तर महामन्त्रीहरू भने केन्द्रीय कार्यालय आफ्नो मातहतमा रहने भएकाले विधानसम्मत रूपमा महाधिवेशन आह्वान गरिएको दाबी गर्छन्।
महामन्त्री थापा र शर्माले विशेष महाधिवेशनले पार्टीलाई विभाजनतर्फ नलैजाने, बरु नयाँ ऊर्जा र एकतासहित कांग्रेसलाई सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।