खनियाबास ५ सत्यदेवीमा पौष २६ देखि महिला भलिबल प्रतियोगिता हुदै

धादिङ । मेन्दो फोले आमा समूहको आयोजनामा धादिङको खनियाबास गाउँपालिका–५, सत्यदेवीमा तेस्रो वडा स्तरीय महिला भलिबल प्रतियोगिता तथा वृहत् सांस्कृतिक कार्यक्रम सञ्चालन हुने भएको छ।

महिलाहरूको खेलकुद क्षमता अभिवृद्धि गर्नुका साथै स्थानीय कला, संस्कृति र पहिचानको संरक्षण गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रम पौष २६ गतेदेखि ३० गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा वडा तथा स्थानीय स्तरका महिला भलिबल टिमहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीय हुनेले १५ हजार रुपैयाँ, तृतीय हुनेले १० हजार रुपैयाँ तथा सान्त्वना हुने टिमले ३ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूका लागि प्रवेश शुल्क २ हजार रुपैयाँ तोकिएको छ।

भलिबल प्रतियोगितासँगै विभिन्न सांस्कृतिक नृत्य, गीत तथा प्रस्तुति समेत रहने हुँदा कार्यक्रम थप आकर्षक हुने अपेक्षा गरिएको छ।

कार्यक्रम सञ्चालनका लागि खनियाबास गाउँपालिका धादिङको आर्थिक सहयोग रहेको छ। आयोजक मेन्दो फोले आमा समूहले सबै स्थानीय बासिन्दा, खेलप्रेमी तथा सांस्कृतिक क्षेत्रमा रुचि राख्ने व्यक्तिहरूलाई कार्यक्रममा सहभागी भई कार्यक्रम सफल बनाउन आग्रह गरेको छ।