भेनेजुएलाबाट अमेरिकालाई करोडौँ ब्यारेल तेल आपूर्ति हुने ट्रम्पको दाबी

अन्तर्राष्ट्रिय खबर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट अमेरिकालाई ठूलो परिमाणमा कच्चा तेल आपूर्ति हुने बताएका छन्। उनका अनुसार ३ देखि ५ करोड ब्यारेलसम्म तेल अमेरिकामा ल्याउने तयारी भइरहेको छ।
अमेरिकाले भेनेजुएलामाथि लगाएको प्रतिबन्धका कारण त्यहाँ उत्पादन भएको तेल लामो समयदेखि ढुवानी हुन नसकी थन्किएको अवस्थामा रहेको ट्रम्पको भनाइ छ। अब उक्त तेल बजार मूल्यमा बिक्री गरी प्राप्त हुने रकम दुवै देशका जनताको हितमा प्रयोग गरिने उनले बताएका छन्।
ट्रम्पले यस योजनालाई कार्यान्वयन गर्न ऊर्जा मन्त्रीलाई निर्देशन दिइसकेको उल्लेख गर्दै तेल सिधै भेनेजुएलाबाट अमेरिकी बन्दरगाहमा अनलोड गरिने जानकारी दिएका छन्। साथै, भेनेजुएलाको कमजोर बनेको तेल पूर्वाधार सुधार्न अमेरिकी तेल कम्पनीहरूले ठूलो लगानी गर्न सक्ने संकेत पनि उनले गरेका छन्।
ऊर्जा क्षेत्रका विश्लेषकहरूका अनुसार यदि यति ठूलो मात्रामा तेल अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्‍यो भने आपूर्ति बढ्ने र मूल्यमा असर पर्न सक्ने सम्भावना छ। तर, यो तेल कति समयमा र कुन दरमा बजारमा आउँछ भन्ने विषय नै निर्णायक हुने उनीहरूको भनाइ छ।
हाल विश्वको दैनिक तेल खपत करिब १० करोड ब्यारेल रहेको छ भने अमेरिका स्वयं ठूलो तेल उत्पादक राष्ट्रमध्ये एक हो। यस्तो अवस्थामा भेनेजुएलाबाट थप तेल आपूर्ति हुनु विश्व ऊर्जा बजारका लागि महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।