रुवीभ्याली द्वारा उपभोक्ता समिति शीघ्र गठन गरी विकास कार्य छिटो गर्न निर्देशन

धादिङ । रुवी भ्याली गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजित बजेटअन्तर्गतका विकास योजनाहरू समयमै कार्यान्वयन गर्न सबै वडा कार्यालयहरूलाई उपभोक्ता समिति यथाशीघ्र गठन गर्न निर्देशन दिएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छोईसाङ तामाङद्वारा जारी गरिएको पत्रअनुसार वडा नं. १ देखि ६ सम्मका सबै वडाहरूले स्थानीय तहको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७५ बमोजिम उपभोक्ता समिति गठन गरी योजना कार्यान्वयन प्रक्रिया अघि बढाउनुपर्ने उल्लेख गरिएको छ।

योजना सञ्चालनमा ढिलाइ भइसकेको जनाउँदै प्रमुख प्रशासकीय अधिकृत तामाङले उपभोक्ता समिति गठन तथा परिचालन प्रक्रियालाई तीव्र बनाउन सम्बन्धित वडा कार्यालयहरूलाई आग्रह गरेका छन्। यस निर्देशनसँगै गाउँपालिकाभित्रका विकास योजनाहरू छिटो अघि बढ्ने अपेक्षा गरिएको छ।