अर्जुनकुमार श्रेष्ठ बने एमाले धादिङका कार्यबाहक अध्यक्ष

धादिङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धादिङ जिल्ला कमिटीले उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ (गोर्खाली)लाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको छ।

जिल्ला कमिटीको हालै सम्पन्न बैठकले यो निर्णय गरेको हो। नवौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भूमि त्रिपाठी पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा चयन भएपछि पार्टी विधानअनुसार श्रेष्ठलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी सुम्पिएको जनाइएको छ।

उक्त बैठककै अवसरमा पार्टीको केन्द्रीय तहमा निर्वाचित नेताहरूलाई सम्मानसमेत गरिएको छ। सम्मानित हुनेहरूमा केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कडेल, केन्द्रीय सदस्य डा. खेमप्रसाद लोहनी तथा भूमि त्रिपाठी रहेका छन्।

जिल्ला कमिटीका अनुसार पार्टीको नीति, विचार र संगठन सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याएको कदरस्वरूप उनीहरूलाई सम्मान गरिएको हो।