त्रिपुरासुन्दरीको छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ २ देखि सुरु

धादिङ। त्रिपुरासुन्दरी गाउँपालिकामा गाउँपालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ आयोजना हुने भएको छ। गाउँकार्यपालिकाको कार्यालय सल्यानटारका अनुसार मिति २०८२/०९/१६ गते बसेको गाउँकार्यपालिकाको बैठकको निर्णयअनुसार प्रतियोगिता माघ २, ३ र ४ गते सञ्चालन गरिनेछ।

प्रतियोगिता सल्यानटार माध्यमिक विद्यालय, त्रिपुरासुन्दरी गाउँपालिका–०२, सल्यानटारमा आयोजना हुने जनाइएको छ। प्रतियोगितामा गाउँपालिकाभित्रका विभिन्न विद्यालयहरूबाट छनोट गरिएका खेलाडीहरूको सहभागिता रहनेछ।

गत वर्ष सम्पन्न पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ९ स्वर्ण, ८ रजत र ६ कास्य पदकसहित रानीपौवा माध्यमिक विद्यालय प्रथम हुँदै लगातार दोस्रो पटक उपाधि जित्न सफल भएको थियो।

यस वर्ष पनि रानीपौवा माध्यमिक विद्यालय लगातार तेस्रो पटक उपाधि जित्दै राष्ट्रपति रनिङ शिल्ड सधैंका लागि आफ्नो नाममा राख्ने लक्ष्यसहित प्रतियोगितामा सहभागी हुने बताइएको छ।