काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अब करिब दुई महिना नजिकिँदै गर्दा निर्वाचन आयोगले उम्मेदवारको चुनावी खर्चको अधिकतम सीमा निर्धारण गरेको छ। आयोगका अनुसार भौगोलिक अवस्था र विकटतालाई आधार मानेर निर्वाचन क्षेत्रअनुसार खर्चको सीमा फरक–फरक तोकिएको हो।
सबैभन्दा बढी खर्च गर्न पाउने निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३३ लाख रुपैयाँसम्म खर्च गर्न सक्नेछन्। यसमा ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, दोलखा, रामेछापलगायत भौगोलिक रूपमा विकट मानिएका जिल्ला समावेश छन्। यस्तै काभ्रेपलान्चोक, मकवानपुर, गोरखा, लम्जुङ, अर्घाखाँची, रोल्पा, प्यूठान, दाङ, बर्दिया, सल्यान, डोल्पा, हुम्ला, जाजरकोट, बझाङ, डोटी र बैतडीका केही निर्वाचन क्षेत्र पनि यही वर्गमा परेका छन्।
सुगम मानिएका निर्वाचन क्षेत्रका उम्मेदवारले न्यूनतम २५ लाख रुपैयाँ मात्र खर्च गर्न पाउने व्यवस्था गरिएको छ। काठमाडौंका केही निर्वाचन क्षेत्र—काठमाडौं १, ३, ६, ७ र ८—मा सबैभन्दा कम खर्च सीमा तोकिएको आयोगले जनाएको छ।
यसैगरी, केही निर्वाचन क्षेत्रमा २७ लाख, २९ लाख र ३१ लाख रुपैयाँसम्म खर्च गर्न पाइने व्यवस्था गरिएको छ। आयोगका अनुसार यसपटक निर्वाचन खर्च पारदर्शी बनाउन उम्मेदवारले अनिवार्य रूपमा बैंक तथा वित्तीय संस्थामा खाता खोलेर सोही खातामार्फत खर्च गर्नुपर्नेछ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउने उद्देश्यका साथ खर्चको सीमा कडाइका साथ कार्यान्वयन गरिने आयोगको भनाइ छ।






