खानियबास १ को टासी आ.वि.का विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण

धादिङ । उत्तरी धादिङको खानियबास गाउँपालिका–१, झार्लाङस्थित उङ्गुलमा रहेको टासी आधारभूत विद्यालयका ३५ जना विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ।

मिति २०८२ साल पौष १७ गते इसाई धर्मावलम्बीहरूको महान पर्व क्रिसमस तथा नयाँ वर्ष २०२६ को अवसरमा Khaniyabas Christian Social Work Team का सदस्यहरूको पहलमा उक्त सहयोग कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई प्रति विद्यार्थी एक/एक थान स्विटर र टोपी, दुई/दुई वटा पेन्सिल तथा छ/छ वटा कापी वितरण गरिएको थियो । साथै विद्यालयका कर्मचारीहरूलाई पाँच वटा डायरी र पाँच वटा टोपी प्रदान गरिएको छ।

सहयोग सामग्री टिम सदस्य अन्जिता तामाङले हस्तान्तरण गरेकी थिइन्। हस्तान्तरण समारोहमा बोल्दै उनले क्रिसमस तथा नयाँ वर्ष २०२६ को शुभकामना व्यक्त गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरिन्। साथै आफ्नो टिम सधैं सामाजिक सेवामा सक्रिय रहने प्रतिबद्धता पनि जनाइन्।

उक्त कार्यक्रम दिपक अनासर (जेम्स), मञ्जु तामाङ, बेमाया तामाङ, अन्जिता तामाङ, पास्टर मानबहादुर तामाङ र एलिशा तामाङको आर्थिक सहयोगमा सम्पन्न भएको हो।

विद्यालयको शिक्षक–अभिभावक संघका अध्यक्ष नासुन बहादुर तामाङले सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सामाजिक कार्यले विद्यार्थीहरूको मनोबल बढ्ने बताएका छन्।