काठमाडौ । नेपाली कांग्रेसभित्र १५औँ नियमित महाधिवेशनलाई लिएर विवाद चर्किएको छ। पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले केन्द्रिय कार्यसमितिले तय गरेको महाधिवेशन कार्यतालिका अनुसार काम अगाडि नबढेपछि नियमित महाधिवेशन प्रक्रिया स्थगित गरेको घोषणा गरेका छन्।
तर पार्टी विधानअनुसार केन्द्रीय कार्यसमितिको निर्णय महामन्त्रीले एकल रूपमा स्थगन गर्न नसक्ने तर्क संस्थापन पक्षको छ। सहमहामन्त्री महेन्द्र यादव र प्रवक्ता डा. प्रकाशशरण महतले पनि महामन्त्रीद्वयको निर्णयलाई संस्थागत नभई व्यक्तिगत भनेका छन्।
यसैबीच, कांग्रेसभित्रका असन्तुष्ट पक्षले पार्टी विधानको दफा १७(२) अनुसार विशेष महाधिवेशनको माग अघि सारेका छन्। करिब २,४८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन माग गरिएको र त्यसका लागि भृकुटीमण्डपको हलसमेत बुक गरिएको छ।
महामन्त्रीद्वय भने सभापति शेरबहादुर देउवाको निर्णय पर्खेर दबाब सिर्जना गर्ने रणनीतिमा रहेको बुझिन्छ। अन्तिम निर्णय भने केन्द्रीय कार्यसमितिको बैठकबाट मात्रै हुने स्पष्ट देखिन्छ।






