धादिङ। अनलाइन मिडिया सोसाइटी धादिङको नयाँ नेतृत्व चयन गरिएको छ। धादिङबेसीमा सम्पन्न प्रारम्भिक साधारण सभाबाट केशव अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको हो।
नवगठित समितिको उपाध्यक्षमा नारायण सिलवाल, सचिवमा अनिल नेपाली, सह–सचिवमा मनिष श्रेष्ठ र कोषाध्यक्षमा बिनु सिम्खडा चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा रामबहादुर ठकुरी (आशिष), सीता सापकोटा (शितल), दिपा लम्साल तथा गजेन्द्र गुरुङ रहेका छन्।
यसै अवसरमा अनलाइन मिडिया सोसाइटी धादिङले रुवीभ्याली गाउँपालिकाको सहकार्यमा डिजिटल पत्रकारिता, कन्टेन्ट निर्माण र पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रमसमेत आयोजना गरेको थियो।
कार्यक्रममा डिजिटल युगअनुकूल पत्रकारिता विकास गर्न आवश्यक सीप, प्रविधि र नवीन अभ्यासबारे छलफल गरिएको थियो। सहभागी पत्रकारहरूले तालिमले डिजिटल मिडियामा काम गर्ने आत्मविश्वास बढाउनुका साथै व्यवहारिक दक्षता विकासमा महत्वपूर्ण सहयोग पुगेको बताएका छन्।
नवगठित कार्यसमितिले जिल्लामा अनलाइन पत्रकारिताको व्यावसायिकता, विश्वसनीयता र प्रभावकारिता अभिवृद्धि गर्ने लक्ष्यसहित काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।






