धादिङमा डिजिटल पत्रकारिता र एआई प्रयोगबारे अभिमुखीकरण धादिङ सम्पन्न

धादिङ । डिजिटल पत्रकारिता, कन्टेन्ट निर्माण तथा पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोगसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम बुधबार धादिङबेसीमा सम्पन्न भएको छ।

अनलाइन मिडिया सोसाइटी धादिङको आयोजनामा तथा रुबी भ्याली गाउँपालिकाको सहयोगमा धादिङ उद्योग वाणिज्य संघको सभा हलमा कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रम केशब अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने रुबी भ्याली गाउँपालिकाका अध्यक्ष रामसिङ तामाङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा डिजिटल युगसँगै पत्रकारितामा आएको परिवर्तन, समाचार उत्पादन प्रक्रियामा एआईको भूमिका तथा कन्टेन्ट निर्माणका नयाँ अभ्यासबारे विस्तृत छलफल गरिएको थियो। प्रशिक्षक अनिल अधिकारी र डि.आर. आचार्यले एआईको प्रयोगमार्फत समाचार लेखन, तथ्य संकलन, शीर्षक निर्माण, भाषा सम्पादन तथा फोटो–भिडियो सामग्री व्यवस्थापनका विषयमा व्यवहारिक प्रशिक्षण दिनुभएको थियो।

प्रशिक्षकहरूले एआईलाई पत्रकारको विकल्प होइन, सहायक उपकरणका रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिँदै गलत सूचना, तथ्यगत त्रुटि तथा पत्रकारितासँग जोडिएका नैतिक जोखिमबाट बच्न अपनाउनुपर्ने उपायबारे समेत जानकारी गराएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तामाङले रुबी भ्याली गाउँपालिकामा हिमाल, जडीबुटी, तातोपानी कुण्ड र बहुमूल्य रुबी ढुंगाजस्ता प्राकृतिक सम्पदाको प्रशस्त सम्भावना रहेको उल्लेख गर्नुभयो। यस्ता स्रोतसाधनको पर्याप्त प्रचार–प्रसार हुन नसक्दा अपेक्षित विकास हुन नसकेको बताउँदै डिजिटल पत्रकारिता र अनलाइन माध्यममार्फत प्रभावकारी प्रचार गर्न सके पर्यटन तथा स्थानीय अर्थतन्त्रलाई टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो। यसका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।

कार्यक्रममा धादिङ जिल्लाका करिब तीन दर्जन अनलाइन मिडिया सञ्चालक तथा पत्रकारहरूको सहभागिता रहेको थियो। सहभागीहरूले तालिम उपयोगी रहेको प्रतिक्रिया दिँदै एआई र डिजिटल प्रविधिको सही प्रयोगले स्थानीय समाचारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन सकिने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रमको समापन गर्दै अध्यक्ष केशब अधिकारीले समयअनुकूल पत्रकारिता विकासका लागि यस्ता तालिमहरू निरन्तर आवश्यक रहेको बताउनुभयो।