अन्तर्राष्ट्रिय खबर । बंगलादेशमा पछिल्लो दुई हप्ताभित्र तेस्रो हिन्दु समुदायका व्यक्तिको हत्या भएको छ। सोमबार साँझ मयमनसिंह जिल्लाको भालुका उपजिल्लास्थित सुल्ताना स्वेटर लिमिटेड कपडा कारखानाभित्र ४२ वर्षीय हिन्दु कामदार बजेन्द्र विश्वासको गोली हानी हत्या गरिएको हो।
बजेन्द्र विश्वास उक्त कारखानामा सुरक्षा गार्डका रूपमा कार्यरत थिए। प्रहरीका अनुसार सोही कारखानामा सुरक्षा ड्युटीमै रहेका २९ वर्षीय नोमान मियाले सरकारी बन्दुक तेर्स्याउँदा गोली पड्किँदा बजेन्द्रको बायाँ तिघ्रामा गोली लागेको थियो, जसका कारण उनको मृत्यु भयो। घटनापछि प्रहरीले नोमान मियालाई हत्या अभियोगमा पक्राउ गरेको छ।
यसअघि डिसेम्बर २४ मा राजबारी जिल्लामा २९ वर्षीय अमृत मण्डल उर्फ सम्राटको कुटपिट गरी हत्या गरिएको थियो। त्यस्तै, डिसेम्बर १८ मा ढाकानजिकै हिन्दु युवक दिपु चन्द्र दासलाई भिडले हत्या गरी शव रुखमा झुन्ड्याएर जलाइएको थियो।
लगातार हिन्दु समुदायलाई लक्षित हिंसात्मक घटनाहरू बढ्दै गएपछि बंगलादेशमा अल्पसंख्यक समुदायको सुरक्षालाई लिएर चिन्ता थपिएको छ।





