धादिङ । श्रम संस्कृति पार्टीले आज (मंगलबार) धादिङ जिल्लामा औपचारिक रूपमा जिल्ला कमिटी गठन गर्ने भएको छ। सदरमुकाम धादिङबेसीस्थित जिविका होटलमा बिहान ११ बजे विशेष कार्यक्रमको आयोजना गरी कमिटी गठन गर्न लागिएको पार्टीले जनाएको छ।
कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष लोकनाथ चुडाल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। पार्टीले जिल्लाका नेता–कार्यकर्ता, शुभचिन्तक तथा सर्वसाधारणलाई कार्यक्रममा उपस्थित हुन आग्रह गरेको छ।
धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ राई अध्यक्ष रहेको श्रम संस्कृति पार्टीले देशभर संगठन विस्तारलाई तीव्रता दिँदै आएको छ। सोही क्रममा धादिङ जिल्लामा पनि संगठन निर्माणको प्रक्रिया अघि बढाइएको पार्टीको भनाइ छ।






