धादिङ । आउँदै गरेको माघे सङ्क्रान्तिको पावन अवसरमा धादिङको खनियाबास गाउँपालिकामा ५-ए-साइड फुटबल प्रतियोगिता तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित खनियाबास समृद्ध समाजको आयोजनामा कार्यक्रम सञ्चालन हुन लागेको हो।
खनियाबास गाउँपालिका भित्रका युवाहरूबीच एकता, भाइचारा, सद्भाव र मित्रताको भावना विकास गर्ने उद्देश्यले साबिक वडा स्तरमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ५० हजार रुपैयाँ सहित शिल, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। त्यसैगरी द्वितीय हुने टिमले ३० हजार रुपैयाँ, तृतीय हुने टिमले १५ हजार रुपैयाँ तथा सान्त्वना हुने टिमले ५ हजार रुपैयाँ सहित शिल, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
टिम दर्ता २०८२ साल पुस २८ देखि ३० गतेसम्म खुला रहनेछ भने खेलहरू माघ १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुनेछन्। प्रतियोगितामा प्रतिटिम ५ जना खेलाडी र २ जना अतिरिक्त खेलाडी सहभागी हुन पाउने व्यवस्था गरिएको छ। टिम दर्ता शुल्क ५ हजार रुपैयाँ तोकिएको छ।
प्रतियोगिता खनियाबास गाउँपालिका–२ अन्तर्गत नयाँ बस्ती (च्यत), अक्थलीमा सञ्चालन हुनेछ। आयोजकले खेलकुदप्रेमी युवा तथा स्थानीयवासीहरूलाई प्रतियोगितामा सहभागिता जनाई कार्यक्रमलाई सफल बनाउन आग्रह गरेको छ।
कार्यक्रम सम्बन्धी थप जानकारीका लागि मान बहादुर तामाङ (अध्यक्ष) ९७६८७५८४६९, अशोक तामाङ (सचिव) ९८६०३२२२८७, अविनाश तामाङ (उपाध्यक्ष) ९८६३६६६२५४ र महेश तामाङ (सह–सचिव) ९८६३५५२१४८ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।






