अन्तर्राष्ट्रिय खबर । भारतीय सेनाका जवानहरूले पाँच वर्षपछि पुनः सामाजिक सञ्जाल प्रयोग गर्न पाउने भएका छन्। सन् २०२० मा लगाइएको सामाजिक सञ्जाल प्रयोगसम्बन्धी प्रतिबन्ध केही सर्तसहित हटाइएको समाचार एजेन्सी एएनआईले जनाएको छ।
नयाँ निर्देशिकाअनुसार भारतीय सैनिकले इन्स्टाग्राममा रिल, फोटो तथा भिडियो हेर्न पाउनेछन्। यद्यपि, कुनै पनि सामग्रीमा टिप्पणी गर्न भने अनुमति दिइने छैन। यस्तै ह्वाट्सएप र टेलिग्रामजस्ता म्यासेजिङ एपमार्फत गोप्य नरहेका सूचना मात्र साझा गर्न पाइनेछ।
सेनाले युट्युब र एक्स (पूर्व ट्विटर) लाई सूचनामूलक प्रयोजनका लागि मात्र प्रयोग गर्न निर्देशन दिएको छ। साथै लिंक्डइन, स्काइप र सिग्नल एप प्रयोगका लागि पनि छुट्टाछुट्टै निर्देशिका जारी गरिएको बताइएको छ।
यसअघि सन् २०२० मा संवेदनशील जानकारी चुहावट हुने जोखिम बढेको भन्दै भारत सरकारले सेनाका जवान र अधिकारीहरूलाई ८९ वटा मोबाइल एप हटाउन आदेश दिएको थियो। ती एपहरूमा फेसबुक, इन्स्टाग्राम, टिकटक, जुम र पबजीजस्ता लोकप्रिय प्लेटफर्म पनि समावेश थिए।
त्यतिबेला सामाजिक सञ्जालमार्फत सैनिकहरू हनी ट्र्यापमा पर्ने घटनाहरू बढ्दै गएपछि यस्तो कडा निर्णय लिइएको भारतीय सेनाको भनाइ थियो। हनी ट्र्यापमार्फत पाकिस्तानी गुप्तचर संस्था आईएसआईलाई संवेदनशील सूचना पुगेको भन्दै सीमा क्षेत्र र नियन्त्रण रेखामा सुरक्षा चुनौती बढेको दाबी गरिएको थियो।
यही सुरक्षा जोखिमलाई ध्यानमा राख्दै भारतीय सेनाले सन् २०२४ मा आफ्ना अधिकारी र जवानहरूलाई आधिकारिक कामका लागि ह्वाट्सएप प्रयोग नगर्न सुझाव दिएको थियो, जसलाई पछि पूर्ण प्रतिबन्धमा रूपान्तरण गरिएको थियो।
हाल नयाँ निर्देशिकामार्फत सैनिकहरूको व्यक्तिगत डिजिटल पहुँच र सुरक्षा संवेदनशीलतालाई सन्तुलनमा राख्ने प्रयास गरिएको सेनाको बुझाइ छ।






