काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाइरहेका छन्। आजभन्दा करिब दुई हजार २५ वर्षअघि डिसेम्बर २५ का दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको विश्वास गरिन्छ।
नेपाल ख्रिष्टियन महासंघका अध्यक्ष सिबी गहतराजका अनुसार येशु ख्रीष्टले मानवजातिलाई मुक्ति, प्रेम र शान्तिको सन्देश दिनुभएको थियो। यही विश्वासका आधारमा क्रिश्चियन समुदायले क्रिसमस डे लाई प्रेम दिवस, शान्ति दिवस र मुक्ति दिवसका रूपमा मनाउने गरेको उनले बताए।
नेपालमा विसं २०६३ पछि क्रिसमसलाई महासंघले औपचारिक महोत्सवका रूपमा मनाउन थालेको हो। महासंघ मूल समारोह समितिको आयोजनामा आज दिउँसो ‘क्रिसमस महोत्सव २०८२’ आयोजना गरिएको छ, जसमा सरकारका प्रतिनिधि, सरोकारवाला निकाय, मानव अधिकारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहने जनाइएको छ।
क्रिसमसको अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो। विसं २०७५ देखि २०७७ सम्म क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइए पनि विसं २०७८ देखि पुनः सबै नागरिकलाई सार्वजनिक बिदा दिइँदै आएको छ।
पछिल्लो समय काठमाडौं, ठमेल, बौद्ध, पोखरा, सौराहा लगायत पर्यटकीय तथा मुख्य सहरका क्षेत्रहरू क्रिसमस ‘ट्रि’ र सजावटले झकिझकाउ बनाइने गरिएको छ। महासंघको दाबीअनुसार हाल नेपालमा करिब ३० लाख क्रिश्चियन धर्मावलम्बी र १३ हजारभन्दा बढी चर्च रहेका छन्।






