वैदेशिक रोजगारका लागि वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने कामदारबाट लिइँदै आएको वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क सरकारले खारेज गरेको छ। शुल्क खारेजीसँगै अब स्वास्थ्य परीक्षण साविककै दरमा हुने भएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत कात्तिक ३० गते स्वास्थ्य परीक्षण शुल्क बढाएर ९ हजार ५ सय रुपैयाँ पुर्‍याएको थियो। यसअघि उक्त शुल्क ६ हजार ५ सय रुपैयाँ रहेको थियो। शुल्क वृद्धि भएपछि वैदेशिक रोजगार व्यवसायी तथा सरोकारवालाले विरोध जनाउँदै आएका थिए।
श्रममन्त्री राजेन्द्रसिंह भण्डारीले श्रमिकको हितलाई मध्यनजर गर्दै वृद्धि गरिएको शुल्क खारेज गर्ने निर्णय गरिएको जानकारी दिएका छन्।
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले मन्त्रालयले ३४ वटा स्वास्थ्य परीक्षण आवश्यक रहेको भन्दै शुल्क बढाएको तर त्यो आवश्यक नरहेको बताए। “सरकारले अनावश्यक रूपमा श्रमिकको खर्च बढाएको थियो,” उनले भने, “अब शुल्क खारेज हुनु श्रमिकमैत्री र प्रशंसनीय निर्णय हो।”