काठमाडौँ । सरकारले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि देशभर ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ। नियमित राष्ट्रिय खोप तालिकाअनुसार माघ महिनाको अन्तिम हप्तादेखि खोप अभियान सुरु गरिने तयारी गरिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत परिवार कल्याण महाशाखा र युनिसेफ नेपालको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन हुन लागेको हो। बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार माघको अन्तिमदेखि फागुनको पहिलो हप्तासम्म अभियान सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
कार्यक्रमअन्तर्गत कक्षा–६ मा अध्ययनरत १० वर्ष पूरा गरेका करिब साढे तीन लाख किशोरीलाई लक्षित गरी खोप दिइनेछ। गएको वर्ष कक्षा ६ देखि १० सम्म अध्ययनरत झन्डै १७ लाख किशोरीलाई दुई मात्रा खोप दिइएकामा यस वर्ष भने खोप सल्लाहकार समितिको सिफारिसअनुसार एक मात्रा मात्रै दिइनेछ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा औसतमा दैनिक चार महिलाको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु हुने गरेको अनुमान छ। महिलामा हुने क्यान्सरमध्ये यो दोस्रो प्रमुख कारण हो, जसको मुख्य कारण एचपीभी भाइरसको सङ्क्रमण हो।
सरकारले हाल १४ रोगविरुद्ध ११ प्रकारका खोप राष्ट्रिय खोप कार्यक्रममार्फत दिँदै आएको छ।






