आज विश्व ध्यान दिवस

काठमाडौँ । संयुक्त राष्ट्रसंघको मान्यताअनुसार आज डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रूपमा मनाइँदै छ। नेपालसहित विभिन्न देशमा मानसिक र शारीरिक स्वास्थ्य प्रवर्द्धनका लागि ध्यानको महत्व उजागर गर्दै विविध कार्यक्रम आयोजना गरिएको छ।
संयुक्त राष्ट्रसंघको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि उपयोगी पूरक अभ्यासका रूपमा स्वीकार गर्दै सन् २०२४ मा डिसेम्बर २१ लाई औपचारिक रूपमा विश्व ध्यान दिवस घोषणा गरेको थियो। नेपालले सन् २०१४ देखि अघि सारेको प्रस्ताव ११ वर्षको निरन्तर प्रयासपछि पारित भएको हो, जसमा नेपालसहित १८ देश सहभागी थिए।
गत वर्ष पहिलोपटक सरकारले टुँडिखेलमा औपचारिक कार्यक्रम गरी यो दिवस मनाएको थियो। यस वर्ष पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरिएको छ।
त्यसैगरी, दक्षिणकाली नगरपालिका–१ स्थित ब्रह्मानन्द सरस्वती ग्राममा सामूहिक ध्यान तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ। अन्य विभिन्न संघसंस्था र ध्यानसँग सम्बन्धित निकायहरूले पनि देशका विभिन्न स्थानमा कार्यक्रम सञ्चालन गरेका छन्।
ध्यान क्षेत्रका जानकारहरूले नेपाललाई विश्वकै ‘ध्यानको केन्द्र’ का रूपमा विकास गर्न सकिने सम्भावना रहेको बताएका छन्। उनीहरूका अनुसार ध्यानले मानसिक सन्तुलन, शान्ति र समग्र स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने गर्दछ।