निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीसम्बन्धी करिब ७० प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ।

निर्वाचन आयोगले आज आयोजना गरेको निर्वाचन केन्द्रित सरकारका मन्त्रीहरूसँगको छलफल कार्यक्रममा बोल्दै कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको बताएका हुन्।

उनले राष्ट्रपतिबाट निर्वाचन घोषणा भएको दिनदेखि नै आयोग शून्य अवस्थाबाट उठेर काममा जुटेको र हालसम्म ७० प्रतिशत तयारी पूरा भएको जानकारी दिए। “निर्वाचनको वातावरण बनिरहेको छ। निश्चित प्रक्रिया पूरा गरेर निर्वाचन सम्पन्न गर्नुको विकल्प छैन, त्यसमा हामी दृढताका साथ लागिरहेका छौँ,” भण्डारीले भने।

कार्यवाहक आयुक्त भण्डारीले निर्वाचनसम्बन्धी संविधान, ऐन तथा कानुनहरू केही पुराना भइसकेकाले प्रविधि र पद्धतिमा समयानुकूल सुधार आवश्यक रहेको बताए। सोही विषयलाई लिएर विभिन्न मागसहित दैनिक दुई–चारवटा ज्ञापनपत्र आयोगमा आइरहेको पनि उनले उल्लेख गरे।

उनले निर्वाचन आयोगसँग सम्बन्धित ऐन, कानुन र नियमहरूलाई संशोधनमार्फत सहज बनाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा खर्च नियन्त्रणसम्बन्धी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको जिज्ञासामा जवाफ दिँदै भण्डारीले आयोग खर्चप्रति सचेत रहेको स्पष्ट पारे। उनले भने, “सरकारी कोषबाट हुने खर्च अत्यन्त मितव्ययी ढङ्गले गर्छौँ। २०७९ सालमा सम्पन्न भएका दुई वटा निर्वाचन पनि यही नीतिअनुसार सम्पन्न गरेका थियौँ।”

उनका अनुसार आगामी निर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरूले गर्ने खर्चमा समेत कडाइका साथ सीमा तोकिनेछ। उम्मेदवारले गर्ने खर्च निर्वाचन क्षेत्रको भूगोल र मतदाताको सङ्ख्याका आधारमा निर्धारण गरिने उनले बताए।